द्वन्द्वकालमा भएका मानव अधिकार हननका चार घटनाबारे सिफारिस

88
  •  
  •  
  •  

काठमाडौ, २० पुस(ओएनएस) :  राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालीन समयमा भएका मानव अधिकार हननका चारवटा घटनाबारे परेको उजुरीमाथि अनुसन्धान गरी पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कानुनी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा २०६० साल चैत ७ गते तत्कालीन बिद्रोही नेकपा माओवादीद्वारा गरिएको आक्रमणमा परी जनधनको क्षति भएको सम्बन्धमा आयोगले स्वविवेकीय आधारमा ग्रहण गरेको उजुरीका सम्बन्धमा प्रत्येक मृतकको हकवालालाई रू. तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन सिफारिस गरिएको छ ।

सोही घटनामा परी घाइते भएका व्यक्ति र त्यहाँको भौतिक क्षतिबारे कार्यदल गरी त्यसले उपलब्ध गराएको तथ्याङ्कबमोजिम सम्बन्धित व्यक्तिहरूलाई पर्याप्त र उचित क्षतिपूर्ति दिन सिफारिस गरिएको छ ।

यसैगरी सो घटनामा द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको पाइएको भन्दै दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरिएको छ ।

रामेछाप जिल्लाको सालु गाविस वडा नं. ६ मा रहेको एक होटलमा कार्यरत टेकराज घिसिङलाई सुरक्षाकर्मीले २०६० साल पुुस २७ गते गोली हत्या गरेको भन्ने उजुरीको सम्बन्धमा मृतकको हकवालालाई रू. तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पोखरीचौंरी गाविस बस्ने बद्री तिवारीलाई सुरक्षाकर्मीले २०५९ माघमा गोली हानी हत्या गरेको भन्ने उजुरीको सम्बन्धमा मृतकका हलवालालाई रू. तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सिफारिस भएको छ ।
सोही घटनामा तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घनकर्ताको रूपमा अभिलेख राखी कानुनी कारबाही गर्न–गराउन सिफारिस गरिएको छ ।
मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका घर भई काठमाडौ डेरा गरी बस्ने रुद्र चापागाईंलाई सुरक्षाकर्मीले २०६२ साल वैशाख ७ गते गोली हानी हत्या गरेको भन्ने उजुरीको सम्बन्धमा मृतकका हलवालालाई रू. तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीकोे पहिचान गरी कानन बमोजिम कारबाही गर्न पनि सिफारिस गरिएको छ ।


  •  
  •  
  •