प्रशंसाको भोकः मानवीय गुण कि कमजोरी ?

869
  •  
  •  
  •  

नौ वर्षकी छोरी छिन् । टिकटकमा भिडियो बनाउन खुब रमाउँछिन् । कुनै पनि मान्छे भेट्यो भने आफुलाई टिकटकमा फलो गर्न अनुरोध गर्छिन् । उनको चाहना आफूले गरेका क्रियाकलापको अरुले प्रशंसा गरी दिउँन भन्ने हो ।

लक्ष्मी रेग्मी

मानिस स्वभावैले प्रशंसाको भोको प्राणी हो । प्रशंसाले मानव मष्तिष्कमा खुशीको तरंग पैदा गर्छ । आफूले गरेका कामहरुको अरुले प्रशंसा गरी दिउँन् भन्ने हरेक व्यक्तिको चाहाना हुन्छ । भर्खर बोली फुटेको बच्चा देखि बोली लरबराउँने वृद्धवृद्धा सबैलाई प्रशंसाको भोक लाग्दछ ।

आफूमा भएको खुबी तथा आफ्नो सोख अनुसार कोही कलामा, कोही गलामा, कोही नृत्यमा, कोही साहित्यमा, कोही खोज अनुसन्धानमा अभ्यास गर्दै व्यक्ति अरुभन्दा अब्बल हुन चाहन्छ, राम्रो काम गर्न चाहान्छ ।

यसो गर्नुको अन्तर्य पनि आत्मसन्तुष्टी र प्रशंसाको खोजी नै हो । एउटा कार्यालयमा काम गर्ने कर्मचारी आफ्नो माथिल्लो तहको कर्मचारीबाट प्रशंसित हुन लालायित हुन्छ ।

त्यसैले कर्मचारीलाई प्रोत्साहन गर्न कार्य सम्पादन मूल्यांकन गर्ने, पुरस्कार दिने जस्ता प्रावधानहरु राखिएको हुन्छ । एउटा विद्यार्थीले आफ्नो शिक्षकसँग मेहनतको फलस्वरुप प्रशंसाकै आशा राखेको हुन्छ ।

‘प्रशंसा’ यो शव्दले व्याकरणमा विशेषण जनाउने अर्थलाई इंकित गर्दछ । तर कालो मान्छेलाई काले, अग्लो मान्छेलाई लम्बे, होचो मान्छेलाई पुड्के, मोटो मान्छेलाई मोटे भनेर प्रशंसा गर्छु भन्यो भने मानिस खुशी हुनुको साटो रिसाउँछ ।

बरु मोटो मान्छेलाई तपाई त कति हुष्टपुष्ट भन्यो भने ऊ खुशी हुन सक्दछ । त्यस्तै गोरो मान्छेलाई काले भनेर सम्वोधन गर्याे भने उसलाई त्यही काले शव्द प्यारो लाग्छ ।

फेसबुक, इस्टाग्राम, ट्वीटर लगायतका सामाजिक संजालमा पोष्ट वा ट्वीट राखी सकेपछि कति लाइक्स र कमन्ट आए भनेर गन्ती शुरु हुन्छ ।

क–कसले के रियाक्ट गरे र कमेन्टमा कसल के के लेखेर प्रशंसा गरे भन्ने खुल्दुली एकातिर हुन्छ भने भोलि आफुले पनि पैचो तिर्न पर्ने चिन्ता उत्तिकै हुन्छ ।

फ्यान फलोअर्स कति भए वा आफ्नो पोष्ट कति पटक शेयर भयो आदि गणना गरेर आत्मतुष्टी गर्न खोज्छ मान्छे । मिडियाको टीआरपी बढ्नु र युट्युवमा भिडियो अपलोड गरेपछि भ्युअर्स बढ्नुमा प्रशंसा कै कुरा अगाडि आउँछ । दर्शक संख्या वृद्धिले आम्दानी वृद्धिमा पनि सहयोग गर्दछ ।

प्रशंसाको भोक लाग्नु आफैँमा नराम्रो होइन । यसले व्यक्तिलाई प्रगति पथतिर डोर्याउँछ ।
तर प्रशंसाको भोक अत्याधिक भयो भने त्यो दुव्र्यसन जस्तो बन्न जान्छ । जुन हाम्रो मानसिक तथा शारिरीक स्वास्थ्यको लागि घातक पनि हुन सक्छ ।

माथिलो ओहोदामा रहेका सेना, प्रहरी, कर्मचारी, नेता आदि आफ्नो पदमा रहुन्जेल आफ्नो अगाडि पछाडि सबै प्रसंशक मात्र भेट्छन् । तर पदावधी सकिए पछि प्रसंशकरुपी पछुवाहरुको संख्यामा भारी गिरावट आउँछ ।

विस्तारै मान्छेहरु तर्किएर हिँड्न थाल्छन् । यसले गर्दा शक्तिशाली ओहोदावालाहरु पदबाट हटेपछि क्रमशः डिप्रेसनमा पनि जान्छन् ।

धर्मशास्त्रले पनि प्रशंसालाई राम्रो मान्दैन । शास्त्रका अनुसार प्रशंसाले जीवको पतन हुन्छ । प्रशंसाले मान्छे खुशी हुन्छ, फुल्छ, आफ्ना कमजोरीहरु विर्सदै जान्छ र व्यक्तिको पतन हुन सक्छ । प्रशंसाले पुण्य पनि नष्ट हुन्छ ।

प्रशंसा गर्ने मान्छे दुई प्रकारका हुन्छन् । एक खालका प्रशंसक परम स्वार्थी, चाप्लुसी गर्ने खालका हुन्छन् भने अर्काखालका प्रशंसक आफ्ना मान्छे हुन्छन्, जो आफ्नो प्रतिष्ठा वृद्धि गर्न चाहान्छन् । आफूलाई मान सम्मान गरी दियोस् भन्ने अपेक्षा राख्छन् ।

प्रशंसाको लत नकारात्मक प्रभावबाट छुट्कारा पाउनको लागि निम्नलिखित उपायहरु अपनाउन सकिन्छ ।

  • कसैले आफ्नो कामको प्रशंसा गरी दिएला कि भनेर अरुको स्वीकृतिको पर्खाईमा नबस्ने ।

  • सकारात्क तरंग (Positive Vibes) आउने व्यक्तिहरुको संगत/समूह बढाउने ।

  • आफ्नो गल्ती र कमजोरी पत्ता लगाउन सुधारात्मक सुझाव र आलोचनालाई स्वागत गर्ने।

  • कसैले आलोचना गर्दैमा आफूलाई असफल नसम्झने । बरु त्यसको चुरो कुरा पत्ता लगाउने कोशिस गर्ने छ। आफूमाथि विश्वास राख्ने,

  •  राम्रो कामको खुलेर प्रशंसा गर्ने, जसले आफूमा भएको इश्य, डाहा हराएर जावस्, यसले आफूभित्र भएको नकारात्मक सोचलाई निस्तेज पारी सकारात्मक पक्षलाई सबल पार्छ ।

खोक्रो प्रशंसा भनेको सिरकभित्रको न्यानो मात्र हो । त्यसैले त्यस्ता व्यक्तिहरुको मात्र संगत गर्नु पर्दछ, जसको सल्लाह सुझावले आफ्नो बौद्धिकता र नैतिकताको विकास होस् । हाम्रो भोकाएको आत्माले राम्रो खुराक पाओस् ।


  •  
  •  
  •