बागमतीको सफाइमा मानव साङ्लो, उर्लियो जनलहर

423
  •  
  •  
  •  

काठमाडौं, २८ चैत (ओएनएस) : सरकारले सुरु गरेको बागमती सरसफाई महाअभियानले एकसय हप्ता पुरा गरेको अवसरमा आज मानव साङ्लो बनाएर बागमती सफा गरिएको छ । बागमती नदिको दुवै किनारा सुन्दरीजलदेखि चोभारसम्म २८ किलोमिटर क्षेत्रमा मानव साङ्लो बनाएर सफा गरिएको हो ।

तपाई आफैं आए मात्र सम्भव छ विशाल हातेमालो नाराका साथ मानव साङ्लो निर्माण तथा नदी किनारको सरसफाइ गरिएको मुख्यसचिव लीलामणी पौडेलले बताए । उनले भने, ‘नेपाल सरकारको नेतृत्वमा २०७० जेठ ५ बाट सुरु भएको बागमती सरसफाई महाअभियानको सयौं सप्ताहको अवसरमा लाखौं नागरिकको सहभागितामा मानव साङ्लो बनाएर बागमती सफा गरेका छौं । यसले काठमाडौंबासी सबैलाई बागमती सरसफाइमा ऐक्यवद्ध बनाएको छ । विहान साँढे ६ बजेबाट सुरु भएको कार्यक्रम ९ बजे सकियो । अभियान सफल बनाउने सबैलाई धन्यवाद ।’

बागमतीको दुवै किनारामा साङलो बनाइ ‘बाग्मती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो । बागमती सफाइको अहिलेसम्मको अभियानमा सहभागिता नजनाएका राजनीतिक दलका शीर्ष नेताहरुले पनि मानव साङलोमा सहभागिता जनाएर बागमती सभ्यतालाई जोगाई राख्ने प्रण गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालादेखि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु मानव साङलोमा बाँधिए । प्रधानमन्त्री कोइराला तीलगंगाथित बागमती नदी किनारमा सहभागी भए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई तीनकुनेस्थित भिएस निकेतन अगाडी, एमाले अध्यक्ष केपीशर्मा ओली थापाथली, कांग्रेस उपसभापति रामचन्द्र पौडेल सानेपा बाग्मती पुल छेउ सहभागी भएका थिए ।

Prachanda and baburam in Bagmati

बागमती सरसफाइ महाअभियानमा सहभागीले बागमतीमा फोहोर नगर्ने सपथ लिएका छन् । ‘म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र वरिपरी तथा नदीनालाहरु सफा राख्छु । बागमती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु ।’ भनेर सरसफाइमा सहभागी सबैले प्रतिज्ञा गरेका हुन् ।

सरसफाइमा सहभागी हुनु अघि ‘हामी बागमती नदी सफा गर्छौं । हामी बागमती नदी सफा गर्न सक्छौं । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भनेर तीन तीन पटकसम्म नारा लगाएका थिए । त्यस्तै मानव साङ्लो बनाएपछि पनि ‘हामी बागमती फोहोर गर्दैनौं । हामी बागमतीमा फोहोर फाल्दैनौं । बागमतीमा फोहोर फाल्न पाइँदैन ।’ भनेर तीन तीन पटक नारा लगायएको मुख्यसचिव पौडेलले बताए ।

Manab Sanglo


  •  
  •  
  •