हुलाकी सडक निर्माणमा १० वर्ष खेर

63
  •  
  •  
  •  

काठमाडौं ६ भदौ ।
दक्षिणी तराई हुँदै मेची-महाकाली जोड्ने हुलाकी राजमार्ग १० वर्षमा ८० किलोमिटरमात्र निर्माण भएको छ । १४ सय ४० किमिमध्ये धनगढी-टिकापुर खण्डको करिब ७७ प्रतिशत काम सम्पन्न भएको हो । बाँकी पाँच खण्डको प्रगति शून्य अर्थात् निर्माण कार्य अघि बढेको छैन ।
भारत सरकार आफैंले ठेक्का आह्वान गरी राजमार्ग निर्माण थाले पनि ठेकेदार भागेपछि निर्माण कार्य अलपत्र परेको हो । जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएपछि राजमार्गमा काम ठप्प छ । राजमार्ग निर्माणको ठेक्का भारतीय ठेकेदारले लिएका थिए ।

सरकारले बीच तराई हुँदै सडक सन्जाल विस्तार गरि कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन, रोजगारीको अवसर सिर्जना गराउन, गरीवी हटाउन लगायतको उद्देश्य राखी यो राजमार्ग निर्माण सुरु गरिएको हो । हुलाकी राजमार्ग आयोजनाका प्रमुख बलराम मिश्रले राजमार्ग निर्माण कार्य ठप्प रहेको बताए । राष्ट्रिय निकुन्जले वातावरणीय प्रभाव अध्ययन स्वीकृति नदिंदा राजमार्ग निर्माण ढिलाई भएको उनले बताए । विरगंजको ठोरी क्षेत्र मध्यवर्ती क्षेत्रमा परेकाले यस खण्डका पुल निर्माण ठप्प भएको उनले बताए ।

गिट्टी, बालुवा, ढुंगा जस्ता निर्माण सामग्री स्थानीय निकाय र बनमन्त्रालयको नियन्त्रणमा हुँदा निकै कठिनाई भएको उनको भनाई छ । नापी र मालपोत कार्यालयबाट सहयोग नहुँदा आयोजना अन्यौलमा परेको उनले बताए । ‘आयोजनासँग लगत कट्टा गर्न अमिन र अन्य जनशक्ति छैन’ उनले भने, ‘अन्य कार्यालयले पनि सहयोग गर्दैनन्, अनि कसरी हुन्छ विकास ?’

निर्माणाधीन हुलाकी सडकको बारा-पर्सा, महोत्तरी-सर्लाही र धनुषा-धनुषा महोत्तरी खण्डमा काम गरेको भारतीय कम्पनी विश्व विभिएसआसर जेभीले डेढ वर्ष अघि नै काम छोडेको थियो । ‘भारतको अनुदानमा निर्माण भएकाले ठेकेदार पनि उतैबाट आएका थिए, छोडेर गए’ प्रमुख मिश्रले भने’ विडिङ गर्दा कममा गरे काम गर्न सकिन भनी छोडेर गए ।’

भारत सरकारले पूर्वदेखि पश्चिमसम्मका हुलाकी सडक निर्माण, सुधार तथा मर्मत गर्न अनुदान दिए पनि लक्ष्यअनुसार काम नहुदा बजेट खर्च हुन नसकेको उनले बताए । भारतकै निगरानीमा ठेकेदारको निरीक्षण तथा अनुगमनको जिम्मा पाएको परामर्शदाता राइटस लिमिटेडले प्रभावकारी अनुगमन नगरेको उनले बताए ।

पहिलो चरणमा ६ खण्डमा निर्माणाधीन कैलाली, दाङ-बााके र बारा-पर्सा खण्डको निर्माणसमेत लक्ष्यअनुसार नभएको उनले बताए । तर आर्थिक वर्ष २०७२/०७३ मा सरकारले हुलाकी राजमार्ग निर्माणका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ‘आशा गरौं अब तिव्ररुपमा काम अघि बढ्छ’ प्रमुख मिश्रले भने, ‘दस वर्ष पूरै खेर गयो ।’ भारतको सहमतिमा हुलाकी राजमार्ग नेपाल सरकार आफैंले निर्माण गर्नेछ । अब हुलाकी सडक आयोजनाले ठेक्का आह्वान गरी ठेकेदार छनौट गरी काम अघि बढाउनेछ । नेपाली ठेकेदारले काम गर्ने भएकाले अब सडक निर्माणले गति लिने आयोजनाका अधिकारीले दिए ।

सन् २००२ देखि २०२० का लागि तयार पारिएको २० वर्षे दीर्घकालीन सडक गुरुयोजनामा पूर्वदेखि पश्चिमसम्म २० जिल्लालाई छुने हुलाकी राजमार्ग निर्माण गर्ने योजना बनाइएको थियो । राजमार्ग बनाउन सन् २००६ मा नेपाल-भारतबीच समझदारी भएको थियो । समझदारी अनुसार सरकारले छानेका यो सडकको डिजाइन, सुपरिवेक्षण र निर्माण तीन चरणमा पूरा गर्ने र यसको सम्पूर्ण खर्च भारतले बेहोर्ने सम्झौता गरेको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •