कागजमा मात्रै हुलाकी सडक

206
  •  
  •  
  •  

काठमाडौं ।
सर्लाहीको नवलपुरबाट मलंगवासम्म २७ किलोमिटर गाडीमा यात्रा गर्न कम्तीमा दुई घन्टा लाग्छ । अन्यत्र यति दूरी ३० मिनेटमा पार गरिन्छ । यहाँ समय लाग्नुको कारण हो, गएगुज्रेको सडक ।

फलतः देशको आवागमनको मूलप्रवाह अर्थात महेन्द्र राजमार्गबाट मधेसको जिल्ला सदरमुकाम नजिक भएर पनि धेरै टाढा छ । धेरै कुरामा सम्पन्न र सम्भावना भएर पनि सर्लाही सडककै दुरावस्थाका कारण पछाडि परको छ । जिल्लाभरमा पक्की सडक भनेको पूर्व-पश्चिम महेन्द्र राजमार्गको ३२ किलोमिटर भागमात्र हो । जबकि जिल्लामा सडकको सञ्जाल एक हजार किलोमिटर छ ।

राजमार्ग आसपासका बजार बस्तीहरु दिन-प्रतिदिन चम्किँदै गएका छन् । तर धेरै पुरानो बस्ती र पञ्चायतकालमै नगर घोषित सदरमुकाम मलंगवासहित जिल्लाका दर्जनौं पुराना बजार सुक्दै गएका छन् । पुराना पिछडिनुको एकमात्र कारण उही हो- सडकहरूको दुरावस्था । राजमार्गबाट सदरमुकाम जोडने नवलपुर-मलंगवा सडक र सदरमुकामलाई पूर्व-पश्चिमका ग्रामीण भेगसँग जोडने हुलाकी सडकको अवस्था जर्जर छ । खाल्डाखुल्डी मात्र रहेका ती सडकका मुख्य विशेषता सुख्खामा धुलो र वर्षामा हिलो हो ।

‘हुलाकी सडकमा गाडी नै चल्दैन, राजमार्ग जोड्ने सडकमा पनि बेला-बेला सुधारको माग गर्दै यातायात व्यवसायीले हड्ताल गर्छन्,’ सर्लाही उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकरप्रसाद गुप्ता भन्छन् ।

छिमेकी जिल्ला महोत्तरीको अवस्था पनि सर्लाहीभन्दा भिन्न छैन । सदरमुकाम जलेश्वर सुक्नुको कारण पनि खराब सडक नै हो । जलेश्वरलाई नेपालका अन्य भागसँग जोड्ने (जनकपुर-जलेश्वर-भिट्ठामोड) वा राजमार्गको बर्दिबास पुग्ने सडकको अवस्था उस्तै छ । मधेसको घना बस्ती हुँदै गुज्रिने हुलाकी सडकका साथै दक्षिणी ग्रामीण भेगलाई पूर्व-पश्चिम राजमार्गसँग जोड्ने सडकहरूको अवस्था जर्जर हुँदा मधेसका पुराना गाउँबस्ती र बजारहरूको रौनक हराउँदै गएको जनकपुरका अर्थशास्त्रका प्राध्यापक डा. भोगेन्द्र झा बताउँछन् ।

राणाकालीन समयमा चिट्ठीपत्र पुर्‍याउने ‘हुलाकी’ कुदने भनेर बनाइएको बाटो भएकाले पूर्वदेखि पश्चिम जोडिने सडकको नाम ‘हुलाकी सडक’ रहन गएको हो । तत्कालीन राजा महेन्द्रले २० को दशकमा हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेसको बस्तीभन्दा २० देखि ३० किलोमिटर उत्तर चुरे छेउमा जंगल फँडानी गरेर पूर्व-पश्चिम लोकमार्गको निर्माणकार्य बढाएपछि हुलाकी सडक ओझेलमा परेको हो । त्यसयता पनि मधेसको जीवनस्तर बदलिन महत्त्वपूर्ण हुने मानिएको उक्त सडक सरकारी प्राथमिकतामा पर्नसकेको छैन ।

देशकै पुरानो र मधेसका लागि ‘लाइफ लाइन’ मानिएको सडकको निर्माण हुन नसक्नुमा सत्तामा महेन्द्रकालीन सोच हावी हुनुलाई कारण मान्छन् झा । ‘सत्ता र व्यवस्था बदलिए, तर शासनमा बस्नेहरूको सोचमा परिवर्तन हुनसकेन,’ झाले भने, ‘सरकारले आफ्नै स्रोतसाधनबाट तराईको महत्त्वपूर्ण सडकको निर्माण नथालेर भारतको मुख ताक्नुले समस्या झन् बल्झिएको हो ।’

वीरगन्ज ठाकुरराम क्याम्पसका प्रमुख ललन द्विवेदीको धारणा पनि प्राध्यापक झाको भन्दा भिन्न छैन । उनी काठमाडौंका शासक र छिमेकी देश भारतको मधेसलाई उपेक्षा गर्ने रणनीतिको सिकार सिंगो मधेस भइरहेको बताउँछन् । राजमार्ग आसपासमा ‘माइग्रेट’ भएर केही दशकयता बसेको बस्तीमा सरकारको ध्यान पुग्ने गरेको, तर पुराना बस्तीहरूमा जानेर, नजानेर वा रणनीतिक हिसाबले ध्यान नपुर्‍याएको हो, आशंका गर्ने प्रशस्त ठाउँ छ, उनी भन्छन् ।

द्विवेदीका अनुसार महेन्द्रले जंगल फँडानी गरेर लोकमार्ग बनाउनुको साटो प्राकृतिक स्रोतलाई बचाएर हुलाकी सडक निर्माणमा ध्यान दिएको भए आज मधेस र सिंगो नेपालकै राजनीतिक, आर्थिक अवस्था अर्कै हुन्थ्यो । ‘राज्यले मधेसलाई गर्ने गरेको उपेक्षा र विभेद लुकेको कुरै होइन । त्यसका अनेक प्रमाणिक कुरा छन्,’ उनले भने, ‘शासकले विगतदेखि गर्दै आएको अनेकौं विभेदका प्रमाण मध्येको एउटा प्रमुख हो, हुलाकी सडक ।’

‘आफ्नै स्रोतबाट प्रत्येक वर्ष केही न केही काम अघि बढाएको भए अहिले अवस्था फरक हुन्थ्यो,’ प्राध्यापक झाले भने, ‘६/७ वर्षअघि थालिएको मध्यपहाडी लोकमार्गमा भइरहेको प्रगतिले पनि त्यो संकेत दिन्छ । तर यहाँ मधेसलाई हेर्ने दृष्टिकोण नै फरक भएपछि कसको के लाग्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •