काठमाडौ, १० मंसिर(एजेन्सी) : शेफिल्ड शील्डको एक खेलमा टाउकोमा चोट लाग्दा गम्भिर घाइते भएका २५ वर्षीय अष्ट्रेलियाली ब्याटस्म्यान फिलिप्स हग्स आफ्नो जीवनसँग जुधिरहेका छन् । उनको अवस्था झन् गम्भीर रहेको बताइएको छ ।
अष्ट्रेलियाको टेस्ट टोलीमा फर्कने राम्रो तयारी गरिरहेका हग्स मंगलबार सीन एबोटको बाउण्सर बलले टाउकोमा लागेपछि गम्भिर घाइते भएका थिए । घाइते भएपछि सेन्ट भिसेन्ट अस्पतालमा उपचारका लागि लगिएका उनको शल्यक्रिया समेत गरिएको थियो । शल्यक्रिया पछि उनी कोमामा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अष्ट्रेलियाली चिकित्सक पीटर ब्रुकनेरले भनेका छन्, ‘हग्सको अवस्तामा कुनै सुधार आएको छैन् र उनको स्थिति निकै नाजुक रहेको छ । यदी पछि केही सुधार भए हामी तुरून्त खबर गर्नेछौ ।’ क्रिकेट अष्ट्रेलियाले पनि हग्सको स्थिति र उपचारमाथि विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फिलिप्स हग्सको स्थिति गम्भिर रहेको छ । उनलाई मंगलबार न्यु साउथवेल्सविरूद्ध साउथ अष्ट्रेलियाको लागि खेल्दै गर्दा टाउकोमा चोट लागेको थियो । टाउकोको स्क्यान गराइने छ र त्यसको आधारमा थप जानकारी दिइनेछ ।’