काठमाडौँ, २ चैत्र(एजेन्सी) : म्यानमारको नयाँ राष्ट्रपति पदमा हीन क्याव निर्वाचित भएका छन् । उनी आंग सान सूकीका पूर्व ड्राइभर समेत हुन् र सुकीका विश्वासपात्र समेत हुन् । गत साता आंगको पार्टी नेशनल लीग फर डेमोक्रेसी(एनएलडी)ले क्यावलाई राष्ट्रपतिका लागि चयन गरेको थियो ।
म्यानमारको संसदमा क्यावले ६ सय ५२ मध्ये ३ सय ६० मत प्राप्त गरेका थिए । उनले आफ्नै पार्टीका एनएलडीका उम्मेदवारलाई पराजित गरेका हुन् । सेनाको तर्फबाट उम्मेदवार बनेका मिन्ट स्वेले २ सय भोट प्राप्त गरेका थिए । यस्तै, एनएलडीका उम्मेदवार हेनरी वानले मात्र ७९ मत प्राप्त गरेका थिए ।
पराजित भएका दुवै उम्मेदवार उप-राष्ट्रपति हुनेछन् । ५० वर्षमा पहिलो पटक म्यानमारले जनताले चुनेको राष्ट्रपति प्राप्त गरेको छ । यसभन्दा अगाडि सेनाको सरकार रहेको थियो ।
६९ वर्षका हीन क्याव एनएलडी पार्टी प्रमुख सुकीका सल्लाहकार हुन् । उनी सुकीका चालक समेत रहेका थिए । हीन स्कुलका दिनदेखी नै सुकीको साथमा रहेका थिए । क्याव सुकीभन्दा १ वर्ष कान्छा छन् ।
सेनाको सरकारले सन् २००८ मा संविधानमा संशोधन गरेको थियो । संशोधनमा जुन व्यक्तिको आफन्तको साथमा म्यानमारको नागरिकता छैन्, त्यो व्यक्ति राष्ट्रपति बन्न पाउने छैन् भन्ने उल्लेख थियो । सोही कारण सुकीले राष्ट्रपतिका लागि उम्मेदवारी दिन पाएकी थिइनन् । सुकीका सन्तानसँग म्यानमारको नागरिकता नभएका कारण उनले राष्ट्रपतिमा उम्मेदवारी दिन नपाएकी हुन् ।
म्यानमारमा हालै भएको निर्वाचनमा सुकीको पार्टी एनएलडीले ८० प्रतिशत भोट हासिल गरेको थियो । यसभन्दा अगाडि सन् १९६२ देशमा सेनाको शासन थियो । सन् १९९० मा भएको आम निर्वाचनमा एनएलडीले जित हासिल गरेपनि सेनाको सरकारले यस परिणामलाई अस्विकार गर्दै सुकीलाई १५ वर्ष जेल हालेको थियो । अन्तराष्ट्रिय दवावका कारण सैन्य सरकारले सुकीलाई सन् २०१० मा रिहा गरेको थियो । उनले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेकी थिइन् ।