कक्षा ११ र १२ को परीक्षाको तयारी पूरा

241
  •  
  •  
  •  

भक्तपुर, १८ बैशाख(ओएनएस) : उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले यही बैशाख २० गतेदेखि सुरू हुने कक्षा १२ र जेठ २ गतेदेखि सुरू हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनले कक्षा १२ को परीक्षामा ३ लाख ४६ हजार ४ सय २७ जना र कक्षा ११ को परीक्षामा ३ लाख ६९ हजार ४ सय २६ जना गरी कुल ७ लाख १५ हजार ८ सय ५३ जना परीक्षार्थीले परीक्षा दिने बताएका छन् ।

उनका अनुसार सबैभन्दा बढी परीक्षार्थी काठमाडौँ जिल्लामा १ लाख १४ हजार ३ सय २२ जना र सबैभन्दा कम कम परीक्षार्थी मनाङ जिल्लामा २०० जना रहेका छन् । परीक्षाका लागि देशभरमा कुल ९ सय २१ परीक्षा केन्द्र निर्धारण गरिएको अर्यालले बताए । परीक्षाका लागि ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुने छन् ।

परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ । परीक्षामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति, कारागार र बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था गरिएको अर्यालले बताए ।


  •  
  •  
  •