द्वन्द्व प्रभावित बालबालिकाको लागि दीर्घकालीन कार्यक्रम ल्याउन आग्रह

254
  •  
  •  
  •  

Chindrenकाठमाडौं, १ मंसिर (ओएनएस) : बालअधिकारको क्षेत्रमा संस्थाहरूले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरूको सही पहिचान गर्न, यथार्थ तथ्याङ्क संकलन गर्न तथा

उनीहरूको हितमा दीर्घकालीन कार्यक्रम ल्याउन नेपाल सरकारसँग आग्रह गरेका छन् ।
बालअधिकारको क्षेत्रमा कार्यरत १२ वटा संस्थाहरूले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा समक्ष सोमबार बुझाएको ध्यानाकर्षणपत्रमा सो आग्रह गरिएको हो ।

ध्यानाकर्षणपत्रमा नेपाल सरकारले २०६७ साल पुस १४ गते ल्याएको सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरूको पुनःस्थापना तथा एकीकरणसम्बन्धी कार्ययोजना चार वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको टिप्पणी गर्दै त्यसको यथाशीघ्र कार्यान्वयन हुनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरूको हक–अधिकारका लागि बालअधिकारको क्षेत्रमा कार्यरत संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

अध्यक्ष शर्माले हाल बन्ने क्रममा रहेको आयोगको छ वर्षीय कार्ययोजनामा बालबालिकाको अधिकारलाई समावेश गरिने जानकारी दिए ।

सो अवसरमा सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाले आपूmहरूले भोग्नुपरेको मानसिक तथा सामाजिक समस्याहरूबारे प्रकाश पार्दै आफ्ना गुमेको अधिकार पुनःप्राप्तिका लागि सहयोग गरिदिन आयोगसँग आग्रह गरेका थिए ।

‘हिमालय मानव अधिकारकर्मी समूह (हिमराइट्स) नेपाल’ अध्यक्ष अञ्जना शाक्यको नेतृत्वमा आएको टोलीले आयोगलाई दश बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो ।


  •  
  •  
  •