कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती ?

322
  •  
  •  
  •  

Godess Laxmiकाठमाडौ /कात्तिक (ओएनएस): तिहारको तेस्रो दिन आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानैदेखि घरआँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आफ्नो घरमा आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ ।

आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ । लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधी पनि शास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको पूजा तथा आरती गर्दा शास्त्रमा जनाइअनुसार गर्न सके लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ ।

कसरी गर्ने लक्ष्मीको पूजा तथा आरती ?

आरतीका लागि एउटा पूजाको थालिमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने । आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फुल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः

ऊं या श्री: स्वयं सुकृतिनां भवनेष्वलक्ष्मी: पापात्मनां कृतधियां ह्रदयेषु बुद्धि:।

श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नता: स्म परिपालय देवि विश्वम्।।

ऊं श्रीमहालक्ष्म्यै नम:, मंत्रपुष्पांजलिं समर्पयमि।

मन्त्र पढिसकेपछि हातमा लिएको फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः

आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।।

यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।।

सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे।

भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।।

यति गरिसकेपछि पुनः प्रणाम गरेर

ऊँ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मी: प्रसीदतु।

भन्दै जल चढाउने ।

ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने । पूजाको विसर्जनाका लागि चामल लिएर गणेश एवं लक्ष्मीलाई चढाउँदै अन्य देवीदेउतालाई चढाउँदै यस्तो मन्त्र भन्नेः

यान्तु देवगणा: सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।


  •  
  •  
  •