यसरी बन्यो थवाङ ‘राज्य विरोधी गाँउ’

542
  •  
  •  
  •  

Santosh Budha Magar 1

दोस्रो संविधान सभाको चुनावमा पनि शून्य मत खसेपछि रोल्पा थवाङको चर्चा फेरि चुलियो । नेकपा–माओवादीले गरेको चुनाव बहिष्कारको समर्थन गर्दै रित्तो मत मतपेटिका फर्काएपछि फेरि थवाङ ‘अचम्मको रहेछ’ भन्ने टिप्पणी भयो । ‘राज्य विरोधी गाँउ’को छवी बनाएको थवाङलाई द्वन्द्वकालमा माओवादीले आफ्नो ‘राजधानी’ समेत भन्ने गर्दथे ।
माओवादी द्वन्द्वको उद्गम थलो मानिएको थवाङले २०३८ सालमै सैनिक अप्रेशन भोगी सकेको थियो । थवाङमा भएको स्थानीय संघर्षको अनुभवको संलेषण नै सशस्त्र द्वन्द्वको आधार मान्छन्, नेकपा–माओवादीका नेता सन्तोष बुढामगर । २०३८ सालमै सैनिक अप्रेशनको पुष्ठभूमि बन्नु तथा थवाङ ‘राज्य विरोधी गाँउ’को रुपमा उभिनुको कारण र आफ्नो भोगाईको बेलिविस्तार लगाएका छन् ओएनएस न्यूजका हिम विष्टसँग स्थानीयवासी तथा नेकपा–माओवादीका नेता सन्तोष बुढामगरले :

 थवाङमा पहिलेदेखि नै कम्युनिष्ट प्रभाव थियो । २०१०–२०१५ सालदेखि नै थवाङमा कम्युनिष्टको जग बस्न सुरु गरिसकेको थियो । २०१३ सालमा कम्युनिष्टको औपचारिक संगठन बन्यो । २०१५ सालदेखि नै थवाङ कम्युनिष्ट गाँउ भनेर चिनिन थालेको थियो । २०१७ सालमा पञ्चायत आयो । पञ्चायत आएपनि थवाङमा कम्युनिष्टको प्रभावलाई कसैले चिर्न सकेन ।

कम्युनिष्ट बनाउन शिक्षक

२०१८ सालअघि थवाङ प्यूठानमा थियो । त्यतिबेला प्यूठान गौंडा र सल्यान गौंडा भन्ने थियो । सल्यान हुँदै प्यूठान जान दुईवटा मध्य मुख्य वाटो सल्यान–रुकुम–थवाङ–उवा–स्यूरीको बाटो थियो । यसले गर्दा थवाङ मुख्य नाका बनेको थियो । राजनीतिक प्रभाव प्यूठानको बढी थियो । प्यूठानमा कम्युनिष्टको प्रभाव भएकाले थवाङमा पनि त्यसको प्रभाव थियो । २०१५ सालमै गाँउलेको पहलमा स्कूल खुलिसकेको थियो । स्कूलले सम्बन्धन पाएपछि २०२२ सालमा पार्टीले प्यूठानबाट खिमानसिंह गुरुङलाई शिक्षकको रुपमा पठायो । बाहिर शिक्षक भए पनि भित्र उहाँले पार्टीको काम गर्नुहुन्थ्यो । दिउँसो स्कूल पढाउने र बिहान बेलुका प्रौढहरूलाई ‘बुढो स्कूल’ पढाउनुहुन्थ्यो ।

मौका मिलाएर उहाँले कम्युनिष्ट सम्बन्धी जानकारी, आचरण, संगठन पद्धतीबारे जानकारी गराउनुहुन्थ्यो । उहाँले आफ्नो प्रयासमा थवाङका धेरैजसो जनतालाई कम्युनिष्टका किताब पढ्ने भनाई सक्नुभएको थियो । स्कूल प्रावि थियो । गुरुङ जानुभयो र २०२५ सालमा स्कूल निमावि भएपछि दीपक केसी प्रध्यानाध्यापकको रुपमा आउनुभयो । उहाँलाई पनि पार्टीले नै खटाएको थियो । उहाँले गुरुङबाट कम्युनिष्ट शिक्षाबारे जानकारी पाएकालाई थप ‘कमिटेट’ बनाउने र कमिटी गठन गराएर कम्युनिष्ट पार्टीलाई थप व्यवस्थित बनाउनुभयो ।

स्थानीय संघर्ष र प्रशासनको पहुँच

गाउँमा सबै कम्युनिष्ट थिए तर आन्तरिक सत्ता संघर्ष हुन्थ्यो । गाँउमा २०३४ सालमा ठूलो झडप भयो । बल देखाउन खोज्नेबीचको झडप थियो त्यो । हामी ‘नयाँ शेर’ र ‘पुरानो शेर’ भन्थ्यौं, उनीहरूलाई । त्यो राजनैतिक र बैचारिक भन्दा पनि दुईपक्षबीचको स्थानीय संघर्षको लडाई थियो । निकै ठूलो लडाई भयो । खुकुरी, भाला, वन्दुक नै हानाहान भयो । धन्न मान्छे कोही मरेनन् तर, मुद्दा मामिला चल्यो ।

गाँउमा रामकुमार बुढा थिए । उनीले यसै विषयलाई लिएर प्रशासनसम्म पुगे । झडपमा एउटा समूहको नेतृत्व उनले गर्थे भने अर्को समूहको नेतृत्व बर्मन बुढाले । यसै घटनालाई लिएर प्रशासन गाँउ पस्ने वातावरण बन्यो । होइन भने पहिले प्रशासनसँग गाँउको कुनै सम्बन्ध सम्पर्क थिएन । रामकुमार बुढाले बर्मन बुढाविरुद्ध एक किसिमको संघर्ष नै छेडे । हुँन त रामकुमार पनि कम्युनिष्ट नै हुँ भन्थे तर भित्रभित्रै प्रशासनसँग उनको सम्बन्ध रहेछ र गाँउमा के भएको हो सबै जानकारी गराउँदा रहेछन् । गाँउमा सबैले साथ दिन छोडेपछि रामककुमारले कम्युनिष्ट गतिविधिबारे सबै प्रशासनलाई जानकारी गराउँदा रहेछन् । रामकुमार र बर्मन बुढा अगुवा थिए । खासमा २०३२ सालदेखि ३४ सालसम्म गाउँ–गाँउमा आपसमै शीतयुद्ध जस्तो भयो ।

प्रहरी विरुद्ध नाकावन्दी

२०३५ सालको अन्ततिर रामकुमार बुढाले जाँड रक्सी बनाएर अन्न नकुहाउ भनेर नारा अगाडी सारे । सुन्दा राम्रो जस्तो लाग्ने । प्रहरी चौकी पनि स्थापना भएको थियो । रामकुमारले जाँड रक्सी बनाउन रोके तर, गाँउ–गाँउमा डिष्टिलरीको रक्सीको डिलर नै राखे । जसले जाँड रक्सी बनाउँछ उसको घरमा पसेर घैंटो फुटाइदिने, दण्ड, जरिमाना गर्ने जस्ता काम गर्न थाले । यसमा रामकुमारलाई प्रहरीले साथ दिएको थियो । जाँड रक्सी बनाउन रोेकेपछि गाँउलेको आमदानी पनि सुक्यो । यसले स्थानीयवासीमा रामकुमार र प्रहरी प्रशासनविरुद्ध आक्रोश जन्मायो । म स्कूलको ईकाई अध्यक्ष थिए । यो घटनापछि हामीले हरेक दिन स्कूलबाट निस्केर नारा लगाउँदै प्रहरी चौकिमा जान्थ्यो ।

बेलुकी ४ बजेपछि एकैचोट विद्यार्थी निस्केर ‘हाम्रा माग पुरा गर’ भन्दै नारा लगाउथ्यौं । मागहरूमा काठमाडौं अस्कल क्याम्पसबाट पक्राउ परेका विद्यार्थी रिहाई गर्नुपर्ने, थवाङबाट प्रहरी चौकी फिर्ता हुनुपर्ने जस्ता माग हुन्थे । तर, हामीले भनेर मात्रै प्रहरी चौकी फिर्ता हुने भएन । त्यसपछि अघोषित नाकावन्दी लगायौं । गाँउमा प्रहरीलाई पानी पनि नदिने, अन्न पनि नदिने जस्ता गतिविधि ग¥यौं । सहनै नसक्ने भएपछि २०३६ सालमा प्रहरी चौकी मिरुलको टुटुमा सारियो । प्रहरी चौकी फिर्ता भएपछि रामकुमार बुढा विस्थापित जस्तै भए, उनका सामर्थकलाई थुत्दै फिट्दै गर्न थाल्यौं । आत्मसर्मपण गर्न चाहने बसे । बाँकी ५÷६ जना भागे ।

भोकमरी लागेका बेला बाटो खन्न उर्दी र अस्वीकार

२०३७ सालमा जिल्ला पञ्चायतले भेला बोलायो । सबै गाउँ पञ्चायतका प्रधानपञ्चलाई बोलाइको थियो । त्यतिबेला गाँउ पञ्चायतले दाङबाट रोल्पा सदरमुकाम लिवाङ जोड्न घोडेटो बाटो खन्न भनियो । जिल्लाका सबै ५१ वटा गाविसले गोला प्रथा गरेर जुन ठाँउ जहाँ भाग पर्छ त्यही खन्ने भनियो । सबैले सहमति जनाए । तर, थवाङका प्रधान बर्मन बुढाले सहमतिमा हस्ताक्षर गर्नुभएन । उहाँले जनताले जे भन्छन् त्यै गर्छु भन्नुभयो । पछि गोलाप्रथा गर्दा थवाङको भागमा कोटगाँउ क्षेत्र परे छ । तर, कोटगाँउका प्रधानले थाहा नदिने भन्दै आफ्नो भागमा कोटगाँउ पारेर थवाङलाई होलेरी पारेछन् जहाँ हिडेर जाँदा चार दिन लाग्छ, थवाङी जनतालाई । गाँउ आएर बर्मन बुढाले गाँउ भेला बोलाउनुभयो । त्यो बेला थवाङमा भोकमरी चलिरहेको थियो । थवाङका जनता टाढा टाढाबाट अन्न वेसाएर खोले खाएर बचिरहेका थिए ।

एकातिर भोकमरीले हैरान अर्कोतिर बाटो खन्ने उर्दी । तर, गाँउलेले बाटो खन्न सर्त राखे । पहिलो, टाढा भएकाले नजिक ठाँउ पाए मात्रै खन्ने । दोस्रो, भनेकै ठाँउमा खन्ने हो भने ज्याला दिनुपर्ने र त्यो पनि नगर्ने हो भने गाँउको स्कूलको कोषमा ५० हजार रुपैयाँ दिनुपर्ने । यति नभए छोराछोरीको विजोग हुने भन्दै वाटो खन्न नजाने निर्णय गरे । यही निर्णय बर्मन बुढाले जिल्लामा खबर गर्न गए । यसपछि बर्मन बुढालाई स्थानीयलाई उस्काएर बाटो खन्न नपठाएको आरोपमा पक्राउ गरेर जेल हालियो । कतिपयलाई मुद्दा लगाइयो । जनता बाटो खन्न कोही गएनन् प्रहरी पनि गाँउमा आउने अवस्था बनेन ।

मुक्त गाँउ र प्रशानलाई चुनौति

चौकी फिर्ता र रामकुमार बुढा विस्थापित भएपछि गाँउ मुक्त जत्तिकै भयो । पुरै जनवादी गीत गाँउन थाल्यौं, सांकृतिक काम गर्न थाल्यौं । सबैको मुखमा जनवादी गीत घन्किन थाल्यो, गाउँ मुक्त भएजस्तै भयो । जनमत संग्रह घोषणा भयो । हामीले गाँउमा कसैलाई पस्न दिएनौं । हामीले हाम्रा प्रधानलाई छोड अनी उनीले जहाँँ भन्छन् त्यही भोट हाल्छौं, नछोडे भोट दिदैनौ भनेर मुद्दा बनाएका थियौं । तत्कालीन मन्त्री बलाराम घर्ती घोडामा चढेर आउनुभयो, चुनाव प्रचारप्रसारमा । उहाँलाई सम्मानका साथ राख्यौं र त्यसका लागि युवाहरू नै सक्रिय हुन्थ्यौं । उहाँहरूले पनि प्रचार गर्नुभएन । प्रचार प्रसार गरे हटाउने चेतावनी दियौं ।

जनमत संग्रहमा सबै भोट बहुदलको पक्षमा गयो । थवाङ कम्युनिष्ट गाँउबाट बुहुदल गाँउको रुपमा चिनियो अझ भनौं पञ्चायत विरोधी गाँउको रुपमा । पहिले झडप भएका कारणले हामी कतिपयलाई मुद्दा थियो । हामी थावाङमा खुला अन्त जाँदा भूमिगत । जनमत संग्रहका बेला सबै भोट बहुदललाई गयो । त्यसपछि राष्ट्रिय पञ्चायतको चुनाव भयो तर पार्टीको बहिष्कारको नीति अनुसार शून्य मत खस्यो । अब भने प्रशासनलाई चुनौति भयो थवाङ ।

सैनिक अप्रेशनको त्यो क्षण

जनमतसंग्रह र राष्ट्रिय पञ्चायतको चुनावपछि थवाङ प्रशासनको नजरमा प¥यो । त्यो त पहिलेदेखि नै हैरान थियो । सायद त्यसैले पनि अपरेशन गर्ने निर्णयमा सरकार पुगेको हुनुपर्छ । अप्रेशन गर्नुअघि दाङबाट बर्मन बुढाकी बहिनी टुलकुमारीले तुल्सीपुरमा पाँचै जिल्ला (रोल्पा रुकुम,सल्यान,दाङ,प्यूठान) का प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको तीन दिनसम्म बैठक बसेको र थवाङमा अप्रेशन गर्ने तयारी भएको जानकारी पठाउनुभयो । हामीले वास्ता गरेनौं । यहाँ आउन सक्दैन् आए ढुंगा पल्टाएर भए पनि लखेटिन्छ भनेर बेवास्था गरियो । युवाको मन पनि त भयो अलि अटेरी भइयो । ठूलो गाँउबाट मेरो घर अली माथि छ ।

म २०३८ कात्तिक ४ गते बेलुकी ५ बजेसम्म त म गाँउमै थिएँ । बेलुकी प्रहरी आएछन् । उनीहरूले वारेन्ट जारी गरेको र मुद्दाको तामेली लिएर आएको भन्दै ५५ जनाको नाम देखाए छन् । त्यसपछि त युवाले कुटपिट गर्दै प्रहरीलाई लेखेटिदिएछन् । खासमा पाँचवटै जिल्लाका सिडियो सहितको झण्डै साढे २ सय देखि ३ सयको संख्यामा सुरक्षा फौज टुटु प्रहरी चौकी (थवाङबाट तीन घण्टा टाढा) आएर बसिसकेको रहेछ । स्थानीयले लखेटेपछि बाटो नपाएर दुई जना प्रहरी स्थानीय स्कूलमा लुकेर बसेछन् । एउटाले चाही टुटु प्रहरी चौकीमा खबर पुर्याएछ । त्यसपछि सेनासहितको टोलीले विहानै ४ बजे थवाङ गाँउ घेराउ ग¥यो ।

त्यसबेला म पार्टी विद्यार्थी संगठनको जिल्ला अध्यक्ष थिएँ । म बेलुकी नै घर गइसकेको थिएँ । विहानै मेरो काकाको छोरी आएर गाँउमा सबै पक्राउ गरिसक्यो किन सुतिरहेको भनेर भनेपछि पो गाँउ घेरिएको थाहा पाए । हामी त्यसपछि भागेर भूमिगत भयौं । गाँउमा पुरै कोकोहोलो थियो । झण्डै २ सय जना जति पक्राउ गरेर गाँउकै पञ्चायत कार्यालयमा लगिएको थियो । खासमा त्यस दिन वन फुक्दै थियो । त्यसदिन सबै विहान उठेर हिड्ने । सबैले पटुकी बाँधेर खुकुरी भिरेर जाने चलन छ । त्यस दिन एउटा घरबाट एक जना त जान्छ । विहान साढे पाँच बजेसम्म त हिडेकै हुन्छन् । तर, सेनाले त ४ बजे नै गाँउ घेरिसकेको रहेछ । सबै खुकुरी भिरेर आएको देखेपछि त लड्नै आएको भन्ने परेछ सेना प्रहरीलाई । त्यसले गर्दा धेरै पक्राउ परे । ५० जनाभन्दा धेरै भूमिगत भइयो । सेना सहयोगी भूमिकामा थियो दंगा प्रहरीले पुरै खानतलासी ग¥यो । अप्रेशनका बेला मोहन बैद्य किरण गाँउमै हुनुहुन्थ्यो । उहाँलाई घरमै लुकाएर अर्कोदिन राति महिलाले गाँउबाट बाहिर पठाए ।

दाङबाट सेना आउँछ, जान्छ, सल्यानबाट आउँछ जान्छ, यसै गरी एक महिनाजति उनीहरू थवाङमै बसे । १०/१२ जनालाई जेल चलान गरेपछि सिडियोहरू गए । बाँकीलाई छोडिदिए । अप्रेशन सकिएपछि हामी फेरि निस्कियौं । विस्थापित भएका रामकमाुर बुढाहरूले फेरि उही शैलीमा लुट मच्चाउन थाले जाँडको घैटो फोर्दिने गरगहना लुट्न थाले । प्रहरी चौकी पनि स्थापित भयो । हामी त्यतिबेलासम्म सशस्त्र भइसकेका थियौं ।

गाँउमा सेनाले अप्रेशन गरेपछि बास्तविकता बताउन ४÷५ जना साथीलाई मोहन विक्रम सिंहलाई भेट्न गोरखपुर(भारत) पठायौं । उहाँले त यतै आउनु अलि शान्त भएपछि जाँउला र मुद्दा लडौंला भन्ने खबर पो पठाउनुभयो । त्यसलाई हामीले अस्वीकार ग¥यौं । त्यसपछि गाँउको सुरक्षाका लागि समूह बन्यायौं । समुह–समुहमा बस्ने र त्यसलाई सेट मिलाएर राख्ने अनि दिनभरी भएका गतिविधि तथा प्रहरीको सूचना संकलन गर्ने गथ्र्यौ । गाँउमा सेल्टर बनाउने अनि हाम्रा विरोधीलाई पहिला सम्झाउने नमाने हातखुट्टा भाँच्नेसम्मको निर्णय थियो । हामीहरूसँग भरुवा बन्दुक, खकुरी थियो । त्यो स्वतः सुरक्षा दस्तामा परिणत भएको थियो । त्यो कुनै पार्टीको निर्णय अनुसार थिएन । खासमा जनयुद्धको अभ्यास त्यतिबेलै भइसकेको थियो ।

नेकपा माओवादीले त्यसलाई संलेषण गरेर देशभर विस्तार गरेका मात्रै हुन् । २०५२ सालमा जनयुद्ध सुरु गर्दा त हामीलाई केही अफ्ठेरो भएन जति २०३८ सालतिर भयो । खासमा भन्ने हो भने विगतको त्यो संघर्षका कारण पनि थवाङ अझै फेरिएको छैन ।


  •  
  •  
  •