यसरी धनी भए शाहरुख

211
  •  
  •  
  •  

saharukh_dubai4काठमाडौं १८ कात्तिक ।

६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् । यसै वर्ष मेमा उनी संसारका दोस्रा धनी अभिनेता घोषित भएका थिए ।

सिंगापुरको वेल्थ एक्स कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी । उनले टम क्रुज, जोनी डेप र टम ह्याक्सजस्ता हलिउड स्टारलाई पछाडि पारेका थिए, भारतका त सबै स्टारलाई पछि पारे ।

शाहरुख बलिउडका सबैभन्दा व्यस्त स्टारमध्ये एक हुन् । उनको कमाइ फिल्ममा अभिनयबाट मात्रै होइन, निर्माण र टिभी कार्यक्रम सञ्चालनबाट पनि हुन्छ । त्यसका साथै उनी आइपिएल र अरू कैयौँ ब्रान्डको प्रवद्र्धनमा व्यस्त हुन्छन् । उनी विज्ञापनबाट पनि राम्रो कमाउँछन् । उनी अहिले करिब ४० वटा ब्रान्ड प्रवद्र्धनमा लागिरहेका छन् । ६ महिनापहिले मात्रै डिटिएचको विज्ञापनको तीनदिने सुटिङका लागि उनले सात करोड रुपैयाँ लिएका थिए ।

त्यसका साथै अवार्ड कार्यक्रम चलाउने, विवाह, पार्टी वा कार्यक्रममा नृत्य गरेर पनि उनको कमाइ हुन्छ । विवाहमा नृत्य गरेको उनी करोडौँ रुपैयाँ लिन्छन् । केही समयअघि उनले दुबईमा एक विवाहमा नृत्य गरेको आठ करोड लिएका थिए । त्यस्तै, मुम्बईमा भएको एक विवाहमा आधा घन्टा सहभागी हुुुँदा उनले पाँच करोड लिएका थिए । उनलाई हरेक वर्ष दुई सय ५० भन्दा बढी विवाहबाट निम्ता आउँछन्, तर केवल १० वटामा मात्रै सहभागी हुन भ्याउँछन् ।

हालै उनले रियल स्टेट व्यवसायमा पनि लगानी गरेका छन् । उनले लन्डनका साथै संसारका विभिन्न मुलुकमा रियल स्टेट र स्टक मार्केटमा लगानी गरेका छन् । उनी कैयौँ रेस्टुरेन्ट चेनको मालिक हुन् । त्यसमध्ये दिल्लीको प्रसिद्ध ‘फ्याट खान बर्गर’ पनि एक हो । उनी क्रिकेटमा आइपिएलको कोलकाता ‘नाइट राइडर्स’ टिमका सह–मालिक हुन् ।

उनले फुटबल टिम ‘न्यु देल्ही एन्जल्स’ पनि किनेका छन् । उनले आफ्नै भोड्का ब्रान्ड पनि उत्पादन गरेका छन्, जसको नाम हो ‘प्योर वन्डर खान इन्डिया’ । उनको अत्तर ब्रान्ड ‘विथ लभ फ्रम शाहरुख’ पनि बजारमा लोकप्रिय छ । त्यस्तै, शाहरुख खान सेडक्सन ब्रान्ड फेसनको दुनियाँमा चर्चामा छ ।

उनी दुई चलचित्र उत्पादन कम्पनीका मालिक हुन् । तिनै कम्पनी ड्रिम्ज अनलिमिटेड र रेड चिल्लिज इन्टरटेनमेन्टबाट उनी फिल्म बनाउँछन् । उनले अहिलेसम्म ७० भन्दा बढी हिन्दी फिल्ममा काम गरिसकेका छन् ।
एजेन्सी /नयाँपत्रिका


  •  
  •  
  •