कति छन् विद्यार्थी ?

43
  •  
  •  
  •  

काठमाडौं २७ असोज ।
शिक्षा विभागले सामुदायिक (सरकारी) र संस्थागत (निजी) विद्यालयको विद्यार्थी संख्या लगत चुस्त राख्न ‘ट्रयाकिङ्’ कार्यक्रम सुरु गरेको छ । यसअघि विद्यार्थीको संख्या बढी देखाएर बढी आर्थिक अनुदान लिने गरेका थिए । विद्यालयहरुको प्रवृत्तिलाई रोक्न हरेक सरकारले विद्यार्थीको नामनामेसी सहितको लगत राख्न सुरु गरिएको हो ।

अबदेखि हरेक विद्यालयका वास्तविक विद्यार्थीको लगत संकलन हुनेछ । हालसम्म  ५१ जिल्लाका हरेक विद्यालयका हरेक विद्यार्थीको पूर्ण लगत सङलन भएको विभागको शैक्षिक सूचना व्यवस्थापन शाखाका उपसचिव शंकर थापाले जनाएका छन् ।

कतिपय विद्यार्थी शैक्षिक सत्रको सुरुमा सामुदायिकमा भर्ना हुने र त्यसपछि निजी विद्यालयमा भर्ना भएर पढ्न जाने गर्दथे । त्यसो हुँदा सामुदायिक विद्यालयले ती विद्यार्थीका नाममा अनुदान लिने गरेका थिए । अबदेखि एकै बाबु-आमाका सन्तानलाई दुईवटा विद्यालयमा भर्ना हुन नसक्ने व्यवस्था हुने भएको छ । हरेक विद्यार्थीको नामनामेसीसहितको लगत संकलन गरी सम्बन्धित शिक्षा कार्यालयमा बुझाउने क्रम सुरु भएको छ ।

लगतमा विद्यार्थीको नाम, थर, भर्ना वर्ष, लिंग, कक्षा, थर, बाबु र आमाको नाम, जन्ममिति खुलाइने छ । त्यसैगरी सम्बन्धित विद्यार्थीमा अपाङ्गता भएमा उल्लेख गर्ने, उसले पाएको छात्रवृत्ति र छात्रवृत्तिको किसिम, पूर्व प्राथमिक तहको अनुभव लिएको वा नलिएको बारेमा खुलाइने छ । बाँकी जिल्लामा समेत यसै वर्षभित्र लगत सङलन गरिने जनाइएको छ । उक्त लगतलाई हरेक वर्ष अद्यावधिक गरिने छ । त्यसमा विद्यार्थी उत्तीर्ण भएका, कक्षा दोहार्‍याउने, दोहोरो कक्षा चढ्ने, विद्यालय छाड्ने जस्ता विवरण अद्यावधिक हुनेछ ।
कान्तिपुरबाट


  •  
  •  
  •