पुर्नवासकालागि छिट्टै काम थालिने

113
  •  
  •  
  •  

सुर्खेत, १० असोज (ओएनएस) : साउनको अन्तिम हप्ता आएको बाढी पहिरोका कारण सवै सम्पत्ती गुमाएका सुर्खेतका विस्थापितहरुको पुनर्वासका लागि अव छिट्टै काम थालिने भएको छ ।
बाढी पहिरोका कारण घर, जग्गालगयत सवै सामग्री गुमेको र अर्को ठाउँमा कुनै सम्पत्ती नभएका विस्थापितहरुले अव जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने भएको हो । त्यसका लागि असोज मसान्तसम्मको अन्तिम म्याद तोकेर प्रशासनले सूचनासमेत सार्वजनिक गरिसकेको छ ।
प्रशासनमा परेका निवेदनको आधारमा राजनितिक दल, भवन तथा आवास, जिल्ला विकास समिति तथा जिल्ला प्रशासन कार्यालयका अधिकृतस्तरका कर्मचारीले स्थलगत रुपमा अध्ययन गरेपछि पुनर्वासका लागि उपयुक्त व्यक्ति र परिवार छनोट गरिनेछ । निमित्त प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले म्याद असोज अन्तिमसम्ममात्रै रहेकाले त्यस्ता व्यक्तिले चाँडोभन्दा चाँडो निवेदन दिनुपर्ने बताए ।

पुनःस्थापना र पुनर्वासको व्यवस्थालाई सहज बनाउन सरकारले केन्द्रमा सहरी विकास मन्त्रालयको नेतृत्वमा स्थानीय विकास मन्त्रालयलगायतका सहभागी हुने समिति र जिल्लामा भवन तथा आवासको नेतृत्वमा समिति तयार गरेको छ । साउनको २९, ३० र ३१ गते भएको भारी वर्षापछि आएको बाढि र पहिरोमा परि सुर्खेत जिल्लामा विस्थापीत भएकाहरुलाई अहिले २४ वटा सेल्टर बनाएर राखिएको छ । त्यस्ता सेल्टरमा बस्ने  जिल्लामा करिव पाँच हजार जनाको संख्यामा छन् ।


  •  
  •  
  •