घर सजावटमा २५ अर्बको लगानी

109
  •  
  •  
  •  

काठमाडौँ, १४ भदौ : आधुनिक शैलीमा निर्माण गरिएका घरको वृद्धिसँगै घर सजावटका सामग्रीको खरिद बिक्रीले फड्को मार्दै गएको छ । पुरानो शैलीलाई नयाँ आधुनिक तवरबाट प्रस्तुत गरिएका घर सजावटका सामग्रीको प्रदर्शनीमा देखिएको उत्साहले पनि यसलाई पुष्टी गर्दै गएको छ ।

पाँच दिनअघि सुरु भएको ‘फर्नेक्स’ प्रदर्शनीले आन्तरिक तथा बाह्य घर सजावटका सामग्रीमा ग्राहकको आकर्षण बढ्दै गएको र प्रदर्शनीमा आउने ९५ प्रतिशत अवलोकनकर्ता आफ्ना ग्राहक रहेको नेपाल फर्निचर तथा फर्निसिङ एसोसिएसनले जनाएको छ ।
भुइँमा ओछ्याउने कार्पेट, मार्बल, टायल (कार्पेट), भित्ता तथा झ्याल सजावट (फर्निसिङ) र काठ तथा स्टिलका कुर्सी, टेबल, सोफा, पलङ तथा दराज आदि (फर्निचर)जस्ता सामग्री यस मेलामा राखिएका छन् ।

निम्नमध्यमवर्गीय नेपाली देखि उच्च वर्गलाई लक्षित गरेर प्रदर्शनीमा विभिन्न कलामा तयार गरिएका सजावटका सामग्री प्रदर्शनीमा राखिएको छ । कार्यालय तथा आवास सजावटका लागि आवश्यक पर्ने विविध आकार तथा नमुनाका पूर्ण ‘सेट’ फर्निचरमा अवलोकनकर्ताको आकर्षण रहेको छ ।
इम्पेरियल फर्निचरका प्रबन्ध निर्देशक प्रकाश जङ्गबहादुर राणाले पुरानो बेलायती शैलीका फर्निचरले उच्च वर्गको ध्यान केन्द्रित गरेकाले यसको व्यापार अत्यन्त राम्रो रहेको भन्दै यस क्षेत्रले अन्तर्राष्ट्रिय बजार लिन सक्ने बताए । उनको कक्षमा राखिएका ‘भिक्टोरियन’ शैलीका फर्निचर नेपालकै कच्चा पदार्थबाट नेपालकै कालिगढले तयार गरेको हजार तथा लाखौँ मूल्यका फर्निचर राखिएका छन् । उनले २५ हजारदेखि एक लाख ९० हजार रुपैयाँसम्मको सामग्री राखेका छन् ।

प्रदर्शनीमा प्रतिक्रिया राम्रो रहेको उल्लेख गर्दै निर्देशक राणाले विदेशबाट नेपालमा माग आए पनि नेपालमा कालिगढको अभाव र मागअनुसारको आपूर्ति गर्न नसकेकाले यस क्षेत्रको अन्तर्राष्ट्रिय बजार पाउन नसकेको बताए ।

गोद्रेज इन्टेरियोका बजार प्रबन्धक भरत ठाकुरले नेपालमा बिक्री हुने यस्ता सजावटका सामग्रीमा ६० प्रतिशत भारत एवम् अन्य तेस्रो देशबाट आयात हुने गरेको जानकारी दिँदै नेपालमा उत्पादित ४० प्रतिशत सामग्रीमध्ये नगन्य मात्रामा निर्यात हुने गरेको बताए । नेपाल फर्निचर तथा फर्निसिङ एसोसिएसनका महासचिव कभिन्द्र जोशीले यस क्षेत्रमा २५ अर्बको लगानी भएको र २० अर्ब रुपौयाँको कारोबार भएको जानकारी दिँदै ६० प्रतिशत आयात हुने गरेको बताए ।


  •  
  •  
  •