टोर्नाडाेको प्रभावितका घर निर्माणको शिलान्यास

468
  •  
  •  
  •  

काठमाडौं, २१ वैशाख : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बारा र पर्सामा टोर्नाडो नामक आँधीका कारण भत्किएका घरको पुनर्निर्माणको शिलान्यास गरेका छन्।

चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावितका लागि जनता आवास निर्माण कार्ययोजनाको शनिबार
बाराको फेटा गाउँपालिका–६ पुरनियाँमा शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले हावाहुरीबाट पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता दिएको बताए। एकैसाथ बारा पर्साको १२ ठाउँमा सो आवासको शनिबार शिलान्यास भइरहेको छ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिए।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि सङ्घीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताए। निर्माण जिम्मा पाएको नेपाली सेनाले १२ वटा समूह बनाएर काम सुरु थाल्ने जनाएको छ।

दुई जिल्लामा १ हजार ४ सय ५३ घर पूर्ण रुपमा भत्किएका छन् । सबैभन्दा बढी बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ घर ध्वस्त भएका छन् ।सरकारले घरहरूको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाख ७६ हजार सेनालाई उपलब्ध गराउने निर्णय गरिसकेको छ ।


  •  
  •  
  •