अस्पतालले ‘ट्वाइलेट एम्बुस’ थापेर हजुरआमाको ज्यान लियो (फोटो फिचर)

124
  •  
  •  
  •  

ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेजको  ट्वाइलेटको भ्‍वाङबाट खसेर एक हजुरआमाको ज्यान गएको छ । भ्वाङ पारेको ट्वाइलेटबारे अस्पताल प्रशासनले बिरामीलार्इ जानकारी नगराउँदा हजुरआमाले ज्यान गुमाएकी हुन् ।

अस्पतालमा उपचारार्थ भर्ना भएकी दोलखाको मेलुङ निवासी ८१ वर्षीया वृद्दा ललितामाया खड्काको अस्पतालले मर्मतका लागि भत्काएको शौचालय भ्वाङबाट झरेर ज्यान गएको हो ।


ललितमायाको ज्यान गएको किस्ट अस्पतालको ट्वाइलेटको बाहिरी भाग
अस्पताल प्रशासनले मर्मतका लागि भ्वाङ पारेको ट्वाइलेटबारे सूचना नदिँदा एकाबिहानै हजुरआमाको ज्यान गएको हो । भ्वाङ पारिएको ट्वाइलेटबारे अस्पतालले खतरासम्बन्धी कुनै सूचना विरामीलार्इ नदिँदा ती हजुरआमाले भ्वाङबाट खस्दा घटनास्थलमै ज्यान गुमाएकी हुन् ।

दम बढ्ने र खुट्टा सुन्निने समस्याको उपचारका लागि शुक्रबारमात्र अस्पतालको मेडिकल वार्डमा भर्ना गरिएकी उनको ज्यान गएपछि अस्पतालले घटना ढाकछोप गरेको आरोप पीडित पक्षले लगाएको छ ।

मर्मतका लागि भ्वाङ खोलिएको ट्वाइलेटको ढोकामा ताला लगाइएको थिएन । ट्वाइलेटको ढोकामा खतराको कुनै सूचना पनि टाँसिएको छैन 
ललितामायाका नाति तीर्थ खत्रीका अनुसार मर्मत भइरहेको शौचालयबारे अस्पतालले सूचना नदिँदा हजुरआमाको ज्यान गएको हो । ‘अस्पताल प्रशासनको लापरबाहीले हजुरआमाको ज्यान गयो’, खत्रीले भने, ‘अस्पताल प्रशासनले कम्जोरी नस्वीकारी प्रहरी लगाएर शव उठाउन दबाब दिइरहेको छ ।’
वृद्दाको तलाबाट खसेर ज्यान गएपछि उनका आफन्तले अस्पतालको चरम लापरबाही भएको आरोप लगाएका छन् । शौचालय गएकी वृद्दा नफर्केपछि उनका आफन्तले खोजी गर्दा उनी तल्लो तलामा खसेको अवस्थामा मृत भेटिएकी थिइन् ।
किस्ट अस्पतालले थापेको ‘ट्वाइलेट एम्बुस’ । जहाँबाट झरेर ललितमायाको ज्यान गयो । ललितमायाको शव तल्लो तलामा 
अस्पतालले प्रशासनले मृतकका आफन्तलाई घटनाबारे समेत जानकारी नगराएको पीडित पक्षको आरोप छ । ‘विहान ६ बजे नै हजुरआमा शौचालय जानु भएको रहेछ’, खत्रीले भने, ‘२ घण्टासम्म खोजी गर्दा पनि उहाँ भेटिनु भएन । अस्पतालका कर्मचारीले उहाँको ज्यान गएको थाहा पाएर पनि कुरा लुकाए ।’
ट्वाइलेटको भ्वाङबाट झरेर ज्यान गुमाएकी ललितमायाको शव घटनास्थलमा 
अस्पतालका निर्देशक ऋषिकेश नारायण श्रेष्ठले घटना दुःखद भएको बताउँदै ट लापबाही भएको स्वीकारे । उनले घटनाको छानविन गरी दोषीमाथि कारबाही गरिने उल्लेख गरे ।
घटनापछि अस्पताल पुगेको प्रहरीको टोलीले पनि भौतिक संरचना खतरायुक्त हुँदा हुँदै अस्पतालले बिरामीहरुलाई जानकारी नदिई गम्भीर लापरबाही गरेको जनाएको छ । दीपा दाहाल/अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •