बिरामी तान्न दलाल राख्छन् अस्पताल

117
  •  
  •  
  •  

काठमाडौं १९ भदौ
क्षेत्रीयस्तरको मानिने कोसी अञ्चल अस्पतालको बहिरंग विभागका सबै एकाइमा विरलै चिकित्सक हुन्छन्। त्यसैले सम्बद्ध एकाइको पुर्जी नै काटिँदैन। त्यहाँ आउन मन नगर्ने चिकित्सक निजी क्लिनिक वा नर्सिङ होममा चाहिँ सजिलै भेटिन्छन्।

विकास समितिले नियुक्त गरेका २५ र अस्पतालकै दरबन्दीका ५० गरी अञ्चल अस्पतालमा ७५ चिकित्सक हुनुपर्ने हो। तर, धेरै एकाइका सेवा स्वास्थ्य सहायक र नर्सहरूकै भरमा चलेका छन्। अस्पताल आसपास एक दर्जन साना अस्पताल, तीन दर्जन क्लिनिक र प्याथोलोजी ल्याब छन्। रोग विशेषका चिकित्सक नपाई अलमलिने बिरामीलाई रिक्सा चालकले नजिकका नर्सिङ होम र क्लिनिक पुर्‍याइदिन्छन्। त्यसबापत उनीहरूले कमिसन पाउँछन्। अञ्चल अस्पतालकै नजिक गोल्डेन, रक्षा, श्री, सिटी, विराटनगर, गि्रनक्रसलगायत निजी अस्पताल छन्।

२० रुपैयाँको पुर्जी काटेपछि अञ्चल अस्पतालमा बढीमा एक हजार तिरे सबै प्रकारका परीक्षण हुन्छन्। त्यही बिरामी निजीमा पुगे ऋण काढ्नुपर्ने गरी बिल आउँछ। ‘स्वास्थ्यमा भएको बेथितिको सुनुवाइ गर्ने कोही भएन, अस्पतालमा जागिर भएको चिकित्सकले उसको क्लिनिक वा नर्सिङ होममा मात्रै राम्रो सेवा दिन्छ भन्ने सबैलाई थाहा छ। भन्न कता जाने?’ उपभोक्ता अधिकारवादी पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले भने।

१० बजे अञ्चल अस्पताल पुग्ने वरिष्ठ फिजिसियन डा. दीपक सिग्देल दिउँसो १ बज्न नपाउँदै आफैंले सञ्चालन गरेको गि्रनक्रसमा पुग्छन्। उक्त अस्पतालमा मोरङ कांग्रेस कोषाध्यक्ष नागेश कोइराला र डा. सिग्देलको लगानी छ। अर्का फिजिसियन डा. शीतलप्रसाद यादव दिउँसो २ बज्न नपाउँदै अञ्चलबाट आफैंले खोलेको सिटी अस्पतालतर्फ लाग्छन्। यो अस्पताल पनि सरकारी अस्पताल सामुन्ने छ। अञ्चल अस्पतालभन्दा करिब डेढ सय मिटर उत्तर सुरक्षा अस्पतालबाट कल आए मेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पनि दिउँसै बाहिरिन्छन्। उनी महिला रोग विशेषज्ञ हुन्। वरिष्ठ शल्य चिकित्सक डा. नारायण बस्नेत र महिला रोग विशेषज्ञ योगेन्द्र मिश्र अञ्चल अस्पतालबाट निस्किएर रोडशेष चोकस्थित आफ्नै लगानीकोे सप्तकोसी नर्सिङ होम पुग्छन्।

शल्य चिकित्सक डा. सुनिलचन्द्र अधिकारी र हाडजोर्नी विशेषज्ञ मुकुन्द दाहाल कञ्च्ानबारीको हाम्रो अस्पताल धाउँछन्। महिला रोग विशेषज्ञ संगीता मिश्र अञ्चल अस्पताल छेउकै गोल्डेन अस्पतालमा समय दिन्छिन्। हाडजोर्नी विशेषज्ञ नवीन सुवेदी र रमेश बस्नेत गि्रनक्रस, बालरोग विशेषज्ञ विमल अग्रवाल सुरक्षा र गोल्डेन अस्पताल, प्रवीण झा मोरङ सहकारी अस्पतालमा दिउँसै पुग्छन्।

अञ्चल अस्पतालका नाम चलेका प्रायः सबै चिकित्सकको लगानीमा आ-आफ्ना अस्पताल र नर्सिङ होम छन्। अञ्चल अस्पतालमा बढीमा ३ घन्टा खटेर आफ्नै लगानीका अस्पताल पुग्छन्। ‘१० बजे अञ्चल अस्पताल हाजिर गरेर भित्र राउन्डमा जान्छन्, अनि ओपीडीमा केहीबेर बिरामी हेर्छन् र आफ्नो लगानीको अस्पतालतिर लाग्छन्,’ एक मेडिकल अफिसरले भने, ‘वरिष्ठ र नाम चलेका सबैले आफ्नो अस्पताल चलाएका छन्। अञ्चल अस्पताल भगवान् भरोसामा छ।’

‘सार्वजनिक गरिनुपर्ने कुरा धेरै छन्। हामीले बोल्दा जागिरमै अप्ठ्यारो पर्छ,’ अञ्चल अस्पतालकी एक नर्सले भनिन्, ‘धेरैपल्ट जटिल केसमा बोलाउँदा डाक्टरसाबहरू बिरामीलाई आफ्नै अस्पतालमा पठाइदिनु भन्नुहुन्छ।’ पहिले पहिले नराम्रो लागे पनि अब बानी परिसकेको उनले बताइन्। ‘केस जटिल होलाजस्तो बुझियो भने बिरामीका आफन्तलाई चिकित्सक भेटिने अस्पताल जान सल्लाह दिन्छौं। जसरी पनि बिरामी बाँचोस् भन्ने लाग्छ,’ उनले भनिन्।

अस्पताल पस्नेबित्तिकै राम्रो सेवा निजीमै पाइन्छ भनेर प्रभाव पार्नेहरू धेरै खटाइएका हुन्छन्। रिक्सा चालकदेखि एम्बुलेन्स र बिरामी फकाउने दलाल उत्तिकै सक्रिय छन्। बहिरंग विभागमा जाँचकै क्रममा पनि चिकित्सकले ‘मेरो क्लिनिकमा आउनु भए डिटेल जाँच गर्न मिल्थ्यो। यहाँको भीडले एउटै बिरामीलाई धेरै समय दिन सकिँदैन’ भनेर मनोवैज्ञानिक प्रभाव पार्ने गरेको बिरामीहरू बताउँछन्।

अञ्चल अस्पताल स्रोतका अनुसार बहिरंग विभागमा परीक्षणमा आएर भर्ना र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई चिकित्सकले नै आफू संलग्न निजी अस्पतालमा नआए राम्रो उपचार नहुने भन्दै तर्साएर लैजान्छन्। अस्पतालको रिफर रजिस्टरले पनि त्यसको पुष्टि गर्छ। हरेक साता प्रसूति र अन्य प्रकारका समस्यामा भर्ना नै भएर उपचार गर्नुपर्ने २ सय बिरामी निजीतिर लाग्न बाध्य हुन्छन््।

अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कर्णले केही चिकित्सकले बाहिरका अस्पतालमा पनि काम गर्ने गरेको स्विकारे। ‘उनीहरूले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर बाहिर काम गरेका हुन्,’ उनले भने, ‘सरकारीमा काम गर्नेले अस्पतालको काममा बाधा नपुग्ने गरी बाहिर पनि काम गर्न पाउने प्रावधान नै छ।’ मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएपछि आफूले बाहिरका कुनै अस्पतालमा नधाएको उनको दाबी छ। सुरक्षा अस्पतालमा भने आफू कन्सल्ट्यान्टका रूपमा जाने गरेको उल्लेख गर्दै भने, ‘जटिल केस आउँदा कहिलेकाहीं त्यो अस्पतालले बोलाउँछ, मानवीय नाताले पनि जान बाध्य भइन्छ।’ सरकारले दिने तलबले चिकित्सकलाई नपुग्ने र सरकारी अस्पतालमा जति नै राम्रो काम गरे पनि जस नपाइने भएकाले धेरैको रोजाइ निजी नर्सिङ होम र अस्पताल भएको उनले तर्क गरे।
कान्तिपुरबाट


  •  
  •  
  •