२०७२ साल बैशाख महिनाको शुभ अशुभ फल

193
  •  
  •  
  •  

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Meshजिम्मेवारीपूर्ण काम सम्पादन गरिएला। राजनीतिक पृष्ठभूमि बलियो बन्नेछ। शक्तिशाली व्यक्तिहरूलाई समेत वशमा ल्याउन सकिनेछ। ठूला काममा पनि हिम्मत जाग्नेछ। तर, परिवारजनमा अरूको भावना बुझ्न नसकिएला। भोगविलासमा मन रमाउनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। तर, स्वास्थ्यको समस्याले काममा बाधा भइरहनेछ। चोटपटक, ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। तपाईंको कमजोरीप्रति आफन्तजनमा टिप्पणी वा गुनासो बढ्ला। विपरीत लिंगीहरूको माध्यमबाट लाभ हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Brishअरूलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। खर्च बढ्ने र आम्दानीमा कमी आउने समय छ। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। तापनि, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। निकट भविष्यको यात्रा व्यवस्थापनमा पनि खर्च हुनेछ। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। विपरीत लिंगी वा व्यवसायी मित्रहरूले साथ दिनेछन्। तर, समयमा उचित व्यवहार नपुग्नाले सोचेको लाभ उठाउन नसकिएला। लगानी वा श्रमको प्रतिफल कममात्र पाइएला। आंशिक लाभ भने हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Mithunविभिन्न अवसरले पछ्याउनेछन्। नयाँ नोकरी वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। पढाइलेखाइमा पनि प्रगतिको समय छ। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। प्रतिष्ठित कम गर्ने अवसर जुट्नेछ। तर, उच्च महत्वाकांक्षाले नोक्सानीसमेत निम्त्याउन सक्छ, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Karkatनोकरी र राजनीतिमा लाग्नेहरूलाई फाइदा उठाउने समय छ। घरमा मंगलमय कार्यहरू सम्पादन हुनेछन्। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। सामाजिक रूपमा ख्याति बढ्नेछ। मनग्ये धनलाभ हुनेछ। बहुमूल्य वस्तु हातलागी हुनेछ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। पुरस्कार, मानसम्मान आदि पाइएला। धेरैले तपाईंको चर्चा गर्लान्। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। तपाईंको प्रतिभाको धेरैले प्रशंसा गर्नेछन्। तर, आफन्तबाट धोका पाइने समय छ। केही व्यावहारिक अप्ठ्यारोमा परिएला। आफ्ना योजनाहरू गोप्य राख्दा राम्रो हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

Simhaरचनात्मक काम गरेर देखाउने बेला छ। तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्। सुखद समाचारले भविष्यप्रति आशा जाग्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। स्थायी सम्पत्तिमा भने केही विवाद आउला। बन्धुबान्धवसँग अलि असमझदारी बढ्ने योग छ। गुरुजनबाट पनि टाढिनुपर्ला। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। हातमा आएका केही अवसर गुम्न सक्छन्। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ। अरूका काममा महत्वपूर्ण समय बित्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Kanyaमौका आए पनि काममा पछि परिने समय छ। व्यवसाय र आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। लगानी जोखिममा पर्ने सम्भावना छ, सचेत रहनुहोला। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। विगतका गल्ती वा कमजोरीप्रति पछुतो लाग्नेछ। मानसिक डरले सताइरहने समय छ। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ला। महत्वपूर्ण काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। केही दण्ड–जरिवानामा परिएला। विपरीतलिंगीहरूबाट फाइदा भइरहनेछ। चोटपटक वा हाड–जोर्नीमा समस्या देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Tulaसमयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा काम बिग्रन सक्छन्। घरखर्च बढ्नुका साथै व्यापारमा पनि केही मन्दी आउला। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। महिनाको तेस्रो साताबाट स्थितिमा सुधार आउनेछ। व्यापार—व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। मान–सम्मान पनि बढ्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Brischikकामको प्रतिस्पर्धाले शत्रुता बढ्न सक्छ। ईष्र्या गर्नेहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। प्रयत्न गर्दा प्रगतिको समय छ। रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सक्छ। सुखद समाचारले आनन्द पाइएला। राजनीतिक पहुँच बढ्नेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Dhanuपठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा पनि कमी आउने देखिन्छ। शत्रुहरूको चलखेल बढ्न सक्छ। प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्न सक्छन्, सचेत रहनुपर्ने बेला छ। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्। स्वास्थ्यमा पेटको समस्याले सताउन सक्छ, खानपानमा सजग रहनुहोला। आफ्नो अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Makarघर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। एकसाथ अनेक काम सुरु गरिएला। तर, अधुरै रहलान्। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति हुन सक्छ, सचेत रहनुहोला। चोटपटक वा ज्वरो जस्ता समस्याले पनि सताउने समय छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। तर, यति हुँदाहुँदै पनि साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ। प्रतिष्ठित व्यक्तितवसँग मित्रता गाँस्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Kumbhaस्वास्थ्यमा केही समस्या आउन सक्छन्। तापनि, यो महिना निकै लाभदायक रहनेछ। विशेष मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। तर, खराब आचरण भएकाहरूसँग सहकार्य गर्नुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन सक्छ, सचेत रहनुहोला। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। पैत्रिक सम्पत्तिका विषयमा दाजुभाइबीच असमझदारी बढ्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Minविभिन्न अवसर आउनेछन् तर विलासितामा ध्यान जानेछ। आँखाको समस्याले सताउन सक्छ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत ग्रहयोग छ। अलि दृष्टिभ्रममा परिएला। तापनि पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। पराक्रम बढ्नेछ। प्रशस्त धन र बहुमूल्य धातु संग्रह गरिएला। सामाजिक प्रतिष्ठा पाइनेछ। विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका पाइएला। प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सम्पादन हुनेछन्। शत्रुलाई वशमा ल्याउन सकिने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिएला।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


  •  
  •  
  •