गृहमन्त्री बस्नेतद्वारा सशस्त्र प्रहरी बल प्रधान कार्यालय निरीक्षण

197
  •  
  •  
  •  

home minister basnet visited apf officeकाठमाडौं, २० कात्तिक(ओएनएस) : गृहमन्त्री शक्तिबहादुर बस्नेतले सशस्त्र प्रहरी बल स्थापनाको छोटो अवधिमै जनताको बीचमा सशक्त ढंगले स्थापित भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको शुक्रबार निरीक्षण गरेपछि बलका उच्च अधिकृत लगायत सिनियर अधिकृत एवं जुनियर अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशनसहित गृहमन्त्री बस्नेतले व्यावसायीक कार्यक्षमता र कार्यकुशलताले सशस्त्र प्रहरी बल गौरव गर्न लायक सुरक्षा संगठनको रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।

‘हरेक दुःख सुखमा सुरक्षा फोर्स जनताको बीचमा हुन्छ भन्ने कुरालाई हालै गएको विनाशकारी भुकम्पको विपत्तिमा सशस्त्र प्रहरी बलले मानवीय संवेदनशीलतालाई आत्मसात गर्दै गरेको उत्कृष्ट कार्यले समेत दर्शाउँछ’, गृहमन्त्री बस्नेतले भने,‘सुरक्षा अंग र जनताबीचको सम्बन्ध सधैं हार्दिकतापूर्ण हुनुपर्दछ ।’

उनले मुलुक अहिले असहज परिस्थितिको सामना गर्दै अगाडी बढिरहेको उल्लेख गर्दै राष्ट्रियता, लोकतन्त्र, सार्वभौमिकता र नागरिकको हितलाई सर्वोपरि ठानी जनताको आकांक्षा अनुरुप आगामी दिनमा अझै सक्रिय, विवेकशील र कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाहमा प्रतिवद्ध रहन निर्देशन दिएका छन् ।

सुरक्षा निकायकाबीचमा आपसी सद्भाव, समन्वय र सहकार्य गर्दै अहिलेको बदलिँदो अवस्था एवं आवश्यकतालाई पुरा गर्नेतर्फ राज्यको नीतिनिर्देशन बमोजिमको कार्यमा समर्पित रहिरहनु पर्ने बताउँदै गृहमन्त्री बस्नेतले अहिलेको स्थितिमा सुरक्षा संगठन चुस्त र गतिशिल एवं अझै सुदृढ भएर प्राप्त जिम्मेवारी पुरागर्न लागिरहनु पर्ने उल्लेख गरेका छन् ।

उनले सशस्त्र प्रहरी बलको काँधमा रहेको जिम्मेवारी पुरागर्ने क्रममा साधनश्रोत लगायतका कुनैपनि कुरामा अभाव भएमा त्यसलाई पुरा गर्न गृहमन्त्रालय गम्भिरतापूर्वक लागिरहने उल्लेख गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सुरक्षा चुनौतीलाई सामना गर्न सशस्त्र प्रहरी बलले एकिकृत सुरक्षा योजनाअनुसार परिचालित भई देश र जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि जिम्मेवार ढंगबाट कार्य गरिरहेको बताए ।

उनले सशस्त्र प्रहरी बलको जनशक्ति मुलुका ५६ जिल्लामा परिचालित रहेको चर्चा गर्दै शान्ति सुरक्षा अमनचयन कायम गर्दै नागरिकमा प्रभावकारी सुरक्षा, सेवा प्रदान गर्ने लक्ष्यका साथ सशस्त्र प्रहरी बल अगाडी बढिरहेको उल्लेख गरेका छन् ।

उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै स्थानीय प्रशासन एंव सरोकारवाला निकायहरुसँग आवश्यक समन्वयन गरी नागरिकले भयमुक्त वातारणमा पेशा, व्यावसाय संचालन गर्नसक्ने अवस्थाको सृजना हुने ढंगबाट दायित्व वहन गरिरहेको चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले संगठनले समयको गतिशिलतालाई बुझेर परिमार्जित एंव प्रभावकारी ढंगबाट प्राप्त जिम्मेवारी पुरा गरिरहेको बताए ।

उनले सशस्त्र प्रहरी बलले आफ्ना राष्ट्रसेवकहरूको मनोवल उच्च राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलित कानूनको परिधिभित्र रहेर कार्य गरिरहेको चर्चा गर्दै भ्रष्टाचार, लैंगिक हिंसा र मानव अधिकार हनन्को घटनामा संगठनले शून्य सहनशिलताको नीति अवलम्वन गरेको चर्चा गरेका छन् ।


  •  
  •  
  •