विराटनगर, २९ चैत(ओएनएस) : गृहमन्त्री शक्ति बस्नेतले आन्दोलनको नाममा अराजक गतिविधी गर्न खोजे सरकार चुप लागेर नबस्ने बताएका छन् ।
सोमबार विहान विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको भन्दै आफ्ना असन्तुष्टी लोकतान्त्रिक विधिबाट राख्ने अधिकार सबैलाई संविधानले दिएको बताए । उनले यस विधी र प्रक्रियाबाट बाहिर गएर कसैले आन्दोलन गर्न खोजे शान्ति सुरक्षा र जनधनको सुरक्षाको जिम्मेबारीबाट सरकार अलग रहन नसक्ने प्रष्ट पारेका छन् ।
संविधान संसोधनसँगै मधेसी मोर्चाका मागहरु सम्बोधन भइसकेकाले अब आन्दोलनको आवश्यकता नभएको मन्त्री बस्नेतले बताए । राजनीतिक समस्या राजनीतिक तवरबाट समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
उनले केही दिन भित्रै आपूर्ति व्यवस्था सहज हुन लागेकाले अब खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थका लागि जनताले लाइनमा बस्नु नपर्ने दावी गरे ।
उनले नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भइरहेको बताएका छन् ।