हिम पहिरोमा मृत्यु हुनेको संख्या ३३ : गृहमन्त्रालय

156
  •  
  •  
  •  

काठमाडौं, ४ कात्तिक (ओएनएस) : गतहप्ता हिमाली जिल्ला मनाङ, मुस्ताङ र म्याग्दीमा भएको हिमपातमा परि ३३ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ । हिमपात भएको एकहप्ता पछि गृह मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी हिमपातको घटनामा ३३ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार हिमपातमा परी निधन भएकामध्ये १७ जना नेपाली र १६ जना विदेशी पर्यटक रहेका छन् । मृत्यु हुने पर्यटकमा इजरायलका ४, भारतका ४, पोल्याण्डका ३, स्लोभाकियाका २ तथा चीन र जापानका १र१ जना छन् । एक पर्यटकको भने देश नखुलेको गृह मन्त्रालयले जनाएको छ । हालसम्म ६ नेपालीको शव आफन्तलाई र ६ विदेशी पर्यटकको ती मुलुकको दूतावासलाई बुझाइएको छ । २१ वटा शव शिक्षण अस्पतालमा नै राखिएका छन् । गृह मन्त्रालयका अनुसार हिमपातका कारण मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, गोरखा र कास्की जिल्ला प्रभावित भएकामा ४ जिल्लामा ३३ जनाको मृत्यु भएको हो ।

मुस्ताङमा २४, म्याग्दीमा ५, मनाङमा ३ र कास्कीमा एक जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयले हिमपातमा परि मनाङमा अझै ८ जना हराइरहेको र उनीहरुको खोजीका लागि नेपाली सेना, प्रहरी र अन्य कर्मचारीसहित १ सय ८० जना परिचालन गरिएको बताएको छ । मनाङ जिल्लामा हराइरहेकाहरुमध्ये ३ जना नेपाली तथा ४ जना क्यानाडा र एक जना भारतीय पर्यटक रहेका छन् । गएको असोज २७ र २८ गते हिमपात भएको थियो । हिमपातमा परेकाहरुमध्ये ५ सय १८ जनालाई जीवितै उद्धार गरिएको गृह मन्त्रालयले बताएको छ ।

मनाङबाट २ सय ६१, मुस्ताङ १ सय ४६, डोल्पाबाट ७१, गोरखाबाट ३३, कास्कीबाट ५ र म्याग्दीबाट २ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये २ सय ८ जना नेपाली र ३ सय १० जना विदेशी रहेका छन् । गृह सचिव सूर्यप्रसाद सिलवालले टे«किङमा गएका नेपालीहरुको विवरण स्पष्ट नभएको भन्दै ज्यान जाने र हराउने नेपालीको संख्या अझै थपिन सक्ने बताए। उनले अब आइन्दा टे«किङमा जाने र टे«किङबाट फर्कने सबैको विवरण राख्न सरोकारवाला निकायलाई निर्देशन दिएको जानकारी गराए।


  •  
  •  
  •