हिटलरको मृत्यु शिविरबाट बाँचेकी साराले भेटिन् प्रधानमन्त्रीलाई

108
  •  
  •  
  •  

काठमाडौ,२२ माघ (ओएनएस) :  दोश्रो विश्वयुद्धको अवधिमा नाजीहरुको मृत्यु शिविरबाट उम्केकी इजराइलकी सारा अट्जमनले प्रधानमन्त्री सुशील कोइरालासँग बिहिबार भेट गरेकी छिन् ।

भेटको क्रममा मृत्यु शिवीरबाट उम्केकी साराले युद्धको विभिषिकाबाट समाज, देश र विश्वलाई बचाउन सबैले निरन्तर प्रयास गर्नुपर्ने बताईन् । होलोकाष्ट अर्थात सामूहिक हत्यामा झण्डै ६० लाख यहुदीहरुलाई मृत्यु शिवीरमा राखेर हत्या गरिएको थियो । ती मध्ये धेरैको ग्यास च्याम्बरमा हत्या भएको थियो ।

पोल्याण्डमा जन्मिएकी सारा नाजीहरुको मृत्यु शिवीरबाट १२ बर्षको उमेरमा उम्किएकी थिइन् । उम्किएको ३ महिनामा इजराइल पुगेकी सारा ३ बर्षपछि इजराइलको स्थापनामा लागी त्यहाँको रक्षा फौजमा भर्ना भईन् ।

सारा अहिले इजराइली र जर्मन राजदूतावासद्वारा दोस्रो विश्वयुद्धको यहुदी संहारको दुःखद घटनाको सम्झनामा नेपालमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् । फ्रान्सेली सांस्कृतिक केन्द्रमा उनको पेन्टिङ्गको प्रदर्शनी भैरहेको छ ।

भेटमा प्रधानमन्त्री कोइरालाले नेपालले पनि विगतमा एक दशकभन्दा लामो सशस्त्र द्वन्द्वको पीडा भोगेको बताए । उनले १४ हजार भन्दा बढी नेपालीहरुको ज्यान लिएको, हजारौं नेपालीहरुको अंगभंग गराएको र हजारौं नेपालीलाई घरबार बिहिन बनाएको त्रासदपूर्ण अवस्थाबाट नेपाल शान्ति प्रक्रियामा आएको बताए ।

बाटो विराएर सशस्त्र द्वन्द्वमा लागेका नागरिकहरुलाई शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिको राजनीतिक मार्गमा ल्याएर सबैको सहभागितामा निर्वाचित भएको संविधानसभाले नयाँ संविधान बनाउन लागेको पनि उनले बताए ।


  •  
  •  
  •