विमान होल्डको विषयमा छानबिन समितिले बुझायो रिर्पोट

विमान होल्ड हुनुको कारण कर्मचारीको लापरबाहीका
557
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (ओएनएस) : प्रधानमन्त्री केपी ओली शर्मा सवार यति एयरलाइन्सको विमान होल्ड गरिएको विषयमा गठन भएको छानबिन समितिले रिर्पोट बुझाएको छ ।

प्रधानमन्त्री ओली चढेको जहाज ३० मिनेटसम्म आकाशमा होल्ड भएको घटनामा छानबिन गठित समितिले रिर्पोट बुझाएको हो ।

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका स–सचिव सुरेश आर्चायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको थियो ।

समितिले नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका कर्मचारी र एयरलाइन्सका कर्मचारीको लापरबाहीका कारण विमान होल्डमा परेको निष्कर्ष निकालको छ ।

समितिले बुझाएको प्रतिवेदनमा समितिले लापरबाही गर्ने कर्मचारीलाई विभागीय कारबाहीको लागि प्राधिकरणलाई सिफारिस गर्नुपर्ने उल्लेख छ ।

छानबिन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई सोमबार बुझाएको रिपोर्टमा विमान होल्ड हुनुमा संवेदनशील सूचना जिम्मेवार निकायले यथासमयमा प्रवाह नगर्नु, जिम्मेवार अधिकारीहरुले कार्यविवरण अनुसारको कार्य नगरेको उल्लेख छ ।

समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो ’फ्लाइट प्रोग्राम’ र ’फ्लाइट प्लान’मा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन समेत आग्रह गरेको छ ।

यसैगरी, समितिको रिपोर्टमा चन्द्रगढी विमानस्थलका टावर कन्ट्रोलर र चन्द्रगढी विमानस्थलका नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुखलाई विभागीय कारबाही गर्न प्राधिकरणलाई लेखी पठाउने उल्लेख छ ।
यती एयरलाइन्सका ग्राउन्ड ह्यान्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटिमा लापरबाही गरेका कारण विभागीय कारबाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिनुपर्नेसमेत रिर्पोटमा उल्लेख गरिएको छ ।

उक्त रिपोर्टमा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ’एप्रोच कन्ट्रोल’मा भिभिआइपी सवार उडान ’ह्यान्डिल’ गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ’एनेक्स १ पर्सनल लिसिनिङ’मा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता एकिन गरेर मात्र काममा फर्काउन प्राधिकरणलाई पत्र लेखी पठाउने भनिएको छ ।


  •  
  •  
  •