दोर्दी खोलामा बाढी : ज्यान गुमाएका चार जनाकै सनाखत(अपडेट)

687
  •  
  •  
  •  

लमजुङ । पूर्वी लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ ।
बाढीले ज्यान गुमाउनेमा सप्तरीको सप्तकोशी– ८ का भुवनेश्वर चौधरी, बाराका शहीद अन्सारी, पर्साका शिवधनी चौधरी र डडेल्धुरा आलीताल–६ का रमेश बुढा रहेका छन् ।

बुधबार बेलुकी दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्यूत आयोजनाको बाढीले बाँध भत्किँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यस्तै बाराका ज्ञानेन्द्र चौधरी, लमजुङकै विनोद तामाङ, सर्लाहीका सुरेन्द्र चौधरी, डडेल्धुराका करन बुढा, कन्चनपुरका दोषबहादुर कोली र भोजपुरका दिवस कटुवाल भने वेपत्ता भएका छन् ।

उनीहरु सबैजना दोर्दी खोला जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुको नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले खोजी भइरहेको जनाइएको छ ।

बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।

घाइतेको सदरमुकाममा रहेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीले जनाएको छ ।

यसैबीच बिहीबार दोर्दी गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।


  •  
  •  
  •