जहाँ एचआइभीबाट मृत्यु हुनेको किरिया गरिदैन, मृत्यु भएकै दिन मासुभात

115
  •  
  •  
  •  

काठमाडौं १३ भदौ ।
डोटीको बासुदेवी गाविस ८ झिगाबस्तीकी बिरमा भुलका श्रीमान करी भुलको मंसिर ०६१ मा एचआइभी संक्रमणले मृत्यु भयो । तर, परिवारले उनको काजकिरिया गरेन ।
झिगाबस्तीकै गंगा विकमा श्रीमान कोलेको पनि एचआइभीकै कारण ०५९ सालमा मृत्यु भयो । ०६९ सालमा सोही रोगका कारण झिगाबस्तीकै काली पार्कीका श्रीमान चक्रको पनि मृत्यु भयो । तर, उनको पनि धार्मिक विधिअनुसार काजकिरिया भएन ।

बासुदेवी गाविसमा एचआइभी संक्रमितको मृत्यु हुन थालेको १२ वर्ष भयो । यो अवधिका सो रोगका कारण ज्यान गुमाएका झन्डै दुई दर्जनको धार्मिक विधिअनुसार किरिया गरिएन । यसरी मृत्यु भएकाको काजकिरिया गरे एचआइभी सर्ने अन्धविश्वासका कारण कसैको पनि किरिया नगरिएको हो । किरिया गरे छोरा वा अन्य परिवारमा रोग सर्ने, वंशनाश हुने, अनिष्ठ हुने अन्धविश्वास छ ।

झिगाबस्तीकी काली भुलका श्रीमानको दुई वर्षअघि मात्र एचआइभीकै कारण मृत्यु भयो । परिवारले उनको किरिया त गरेन नै, मृत्यु भएकै दिन मासुभात खाए ।

हिन्दु धर्मअनुसार परिवारका सदस्यको मृत्यु हुँदा एक वर्षसम्म मासु, प्याज लसुनलगायतका खानेकुरा नखाने चलन छ । तर, एचआइभीबाट मृत्यु भए झिगांबस्तीमा कसैले पनि धार्मिक नियम पूरा गर्दैनन । बरु मान्छे मरेकै दिन मासुभात खाने चलन छ
नयाँपत्रिकाबाट


  •  
  •  
  •