‘आफै मर्छु भन्थेँ, अहिले बाँच्न सिकाउँछु’

221
  •  
  •  
  •  

काठमाडौं  । जब उनले एचआइभी लागेको थाहा पाइन्, सर्वस्व सकिएझैँ लाग्यो । जीवन नै सिध्धिए झैँ भयो । रोइन्, कराइन्, फेरि रोइन्, फेरि कराइन् । उपाय कुनै थिएन । भैसकेको थियो । ओखतीमूलो गरेर नहुने बज्रपात आइलाग्यो उनलाई ।

जिन्दगीका सबै बाटाहरु बन्द भएर एउटै बाँकी रहेजस्तो लाग्यो – ‘आत्महत्या’ । तर आफैले आफैलाई सम्हालिन् र सोचिन् ‘एचआइभी लाग्नुमा मेरो कुनै गल्ती छैन, किन आफैले आफैलाई आत्महत्याको सजाय दिउँ ।’

विहे भएको केही समयपछि दिक्षा रिमाललाई थाहा भयो एचआइभीको संक्रमणबारे । ‘केही दिन सम्हाल्न गाह्रो भयो, आफैले आफैलाई ।’ दिक्षा विगत सम्झिन्छिन् ‘पटकपटक आत्महत्या गरौँ भन्ने सोच आयो तर सकिन ।’

उनलाई आज भन्दा १३ वर्ष अगाडि एचआइभीको संक्रमण भयो । विहे गरेपछि दिक्षाले सन्तानको रुपमा छोरी जन्माइन् । हुर्काउने, बढाउने मिठामिठा सपना देखिन् । सपना वर्षदिनमै तुहियो । छोरी रहिनन् । कसरी नावालिका छोरीले संसार छोडिन् ? परिवारका कसैले पनि चासो दिएनन् । अस्पतालमा कारणबारे सोधखोज गरिएन ।

१८ वर्षमै वैवाहिक सम्बन्धमा गाँसिएकी दिक्षाका पतिले लागुपदार्थ दुव्र्यसनी गर्दा रहेछन् । लागुपदार्थका लत बसेको चाल पाएपछि परिवारले सुध्रिन्छ कि भनेर विहे गरिदिएछन् दिक्षासँग ।

पछि सोधखोज गर्दा उनले ९ कक्षादेखि नै ड्रस लिँदा रहेछन् । एचआइभी सरिसकेको पनि रहेछ । त्यो कुरा सुरुमै कसैले चाल पाएनन् । रोजगारीको शिलशिलामा विदेश जाने बेलामा उनको रक्त परीक्षण गर्दा एचआइभी पोजेटिभ देखिएछ ।

पतिलाई एचआइभी भएको थाहा पाएपछि दिक्षाको रगत परीक्षण गरियो, चितवनमै । रिजल्ट पतिको भन्दा भिन्न भएन । तर पनि पत्यार लागेन दिक्षालाई । काठमाडौंमा दोहोरो परीक्षण गरियो, रिजल्ट उही । अझै विश्वास लागेन, भारत पुगेर फेरि परीक्षण गरियो, फेरि पनि एचआइभी नै देखियो । त्यसपछि सोचिन् ‘नखाएको विष पनि लाग्छ भन्छन् कहिलेकाहीँ यही होला ।’

जब पतिको रगतमा एचआइभी देखियो, यातना सुरु भयो पत्नी (दिक्षा)माथि । दिक्षाले विगत सुनाइन् ‘जब मेरो श्रीमानलाई एचआइभी भयो भन्ने थाहा भयो तब ममाथि यातना सुरु भयो ।’

तैँले जताबाट एचआइभी सारेर ल्याइस्, त्यतै जा…..आदि इत्यादी भनेर दिक्षालाई घरबाट निकाल्न खोजे । तर पनि उनले शहनशीलता तोडिनन् । सहिन् । मानसिक र शारिरीक यातना सहनु उनको दैनिकी बन्यो ।

‘श्रीमान् सँधै नशामा हुन्थे । कपाल भुत्ल्याउँथे । कुट्थे । पिट्थे । परिवारका अरुले यस्ती र उस्ती भनेर तल्लो स्तरको गालीगलौज गर्थे ।’ अनायास आँखामा टिलपिल्ल आँशु भरिए पनि सम्हालिँदै दिक्षाले भनिन् ‘जीवनका हरेक पाटाहरु अँध्यारो मात्रै देख्थेँ ।’

टारेर टर्दैनथ्यो । ओखती गरेर निको हुँदैनथ्यो । बस्, मन दह्रो बनाए केही वर्ष अन्य मान्छे सरह नै बाँच्न सकिन्थ्यो ।

पतिपत्नीकै जीवन एकैसाथ मृत्युको मुखमा पुग्यो । सासुले राम्रो मुखले हेर्न छाडिन् । ‘आफू त बिग्रेकी रैछस् रैछनस् । मेरो छोरो पनि बिगारिस्’ आफूले खाएका हजारौँ गाली मध्ये एउटा स्मरण गरिन् दिक्षाले ‘ब्यूटिपार्लर जान्छु भनेर कहाँ कहाँ जान्थिस् त्यतैबाट सारिस् होला नि ।’

यतिबिघ्न सहँदासहँदै पनि एचआइभी लागेको डेढ वर्षपछि घरबाट निकाली छाडे उनलाई । त्यसपछि उनी पुरानै घर (माइत) गएर बसिन् । त्यसको तीनवर्षपछि उनका पति खसे ।

माइतीले भने उनलाई साथ दिए । बाँच्ने रहर पलाएर आयो । चर्किएको घाउमा मलम लगायो । दिक्षाका दाजुभाई छैनन् । दिदीबहिनी मात्र भएको उनको परिवार सारथी बन्यो उनको थप भविष्यमा ।

दिदीको सहयोगमा दिक्षा माइती नेपालसम्म पुगिन् । नयाँ कुरा सिकिन् । वर्षदिन माइती नेपालमा आवद्ध भएर काम गरिन् । समूहमा बोल्न सक्ने भइन् । ज्ञानगुनका कुरा भन्न सक्ने भइन् । ‘सुरुमा बोल्दा ओठ काम्थ्यो मेरो । अरुलाई एचआभी एड्सको विषयमा बुझाउन सक्दिनथेँ’ उनले भनिन् ‘ तर आज मेरै कारण धेरै दिदीबहिनीहरु सम्हालिएको देख्दा दंग पर्छु ।’

हाल उनी आफ्नो जीवनमा औँशीको अँध्यारो हटेर पूर्णिमाको उज्यालो छरिएको बताउँछिन् । भन्छिन् ‘म अहिले खुसी छु । आज आफू जस्तै धेरै एचआइभी भएकाहरुको सहयोगमा लागेको छु ।’

कुनै बेला आफै मर्छु भन्ने दिक्षा अहिले अरुलाई बाँच्न सिकाउँछिन् । समाजमा एचआइभी भएकाहरुमाथि हुने भेदभावको अन्त्य गर्न र जनचेतना फैलाउने काममा उनी लागेकी छिन् ।

एचआइभी लागेको थाहा भएपछि उनी छिछि र दुरदुरको पात्र भइन् । उनको छेउमा बस्न समेत कोही रुचाउँदैनथे । सँगै हिड्न, बस्न कोही मान्दैनथे । गाडीमा पनि उनी बसेको सीटमा कोही बस्दैनथे । हेप्थे । एचआइभी लागेको छ, तै पनि भाषण गर्दै हिँड्छे भनेर आलोचना गर्थे ।

तर उनले आफ्नो संघर्ष जारी राखिन् । चितवनको सदरमुकाम भरतपुरमा जन्मिएकी उनले माइती नेपालकै सहयोगमा विसं २०६१ सालदेखि भरतपुरमै ‘चितवन संक्रिय समूह’ नामक संस्था स्थापना गरिन् । अहिले उनी प्रसंशाको पात्र बनेकी छिन् । समाज परिवर्तनको लागि उनले अग्रणी भूमिका खेलेकी छिन् चितवनबाट ।

हाल सो संस्थाले चितवनको १५ वटा गाविसमा एचआइभी संक्रमितको लागि हेरचाह, सहयोग, उपचार र वकालत गर्दै आएको छ । सुरुमा ५ जना सदस्य रहेको सो संस्थामा अहिले ४५ सदस्य र ३२ जना कर्मचारी आवद्ध छन् । आफूजस्ता हजारौँ एचआइभी संक्रमितहरुलाई समाजले हेयको दृष्टिले हेर्ने हुँदा त्यो सोच र संस्कार बदल्न निरन्तर लागि पर्ने उनको सोच छ । तर कहिलेकाहीँ झस्किन्छिन् एचआइभी लागेको झण्डै १५ वर्ष भइसकेछ भनेर उनी ।  अमृता पोखरेल


  •  
  •  
  •