३३ औँ विश्व एड्स दिवस मनाइँदै, नेपालमा साढे २९ हजार एचआईभी संक्रमित

88
  •  
  •  
  •  

काठमाडौं । आज ३३ औँ विश्व एड्स दिवस, नेपालमा पनि सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ ।

कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ । एचआईभी एक प्रकारको भाइरस हो ।

रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने डाक्टर अनुप बाँस्तोला बताउँछन् ।


यसैबीच नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा.सुधा देवकोटाका अनुसार ती मध्ये पुरुषको संख्या १७ हजार ५ सय ८७ र महिलाको संख्या ११ हजार ९ सय १६ रहेका छन् । यस्तै १५ देखि ४९ वर्षको उमेर समूहको जनसंख्यामा एचआईभीको व्याप्तता दर शुन्य दशमलव १३ प्रतिशत रहेको छ ।
यस्तै नेपालमा करिब ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ। यस्तै एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमणको दर ५ प्रतिशत भन्दा बढी भएको तर सामान्य जनसंख्यामा एचआईभी संक्रमण दर १ प्रतिशत भन्दा कम भएको छ ।
तथ्याङ्क अनुसार वि.सं. २०७७ असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन्। सन् २०१० को तुलनामा सन् २०१९ सम्मा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ।

यस्तै बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको पनि डा। देवकोटाले बताइन्। यस्तै एड्सको कारणले मृत्यु हुनेको संख्या ८५ प्रतिशतले घटेको छ। एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ ।


  •  
  •  
  •