राेल्पामा २७ जाेडी एचआइभी संक्रमित

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमित महिलाहरुको सुझाव
528
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : विदेशमा लामाे समय बसाेबास गरेका प्रवासी युवासँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले अविवाहित महिलाहरुलार्इ सुझाव दिएका छन् ।

विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमानका कारण आफूहरु पनि एचआइभी एड्स संक्रमणको शिकार बन्नुपरेपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । हामीले त श्रीमानका कारण सजाय पायौँ तर तपाइँहरु शुरुमै सचेत बन्नुपर्छ, उनीहरुले एउटै आवाजमा भने ।

रोल्पा नगरपालिकाकी २५ वर्षीया युवती श्रीमानका कारण एचआइभी एड्स संक्रमित बनेकी छन् । परिवारको मन्जुरीमा उनको विवाह भएको थियो । “रोजगारीका शिलशिलामा भारतमा बस्दै आएका युवकसँग विवाह गरिदिए छोरीले सुख पाउली भनेर बाआमाले विवाह गरिदिनु भयो तर विवाह भएको केही वर्षपछि म मा पनि एचआइभी संक्रमण देखियो, हाल म पनि संक्रमित भएर बाँचिरहेकी छु” उनले भनिन्।

यस्तै, फगाम, रोल्पाकी ३९ वर्षीया एक महिला पनि श्रीमानकै कारण एचआइभी एड्स संक्रमित भएकी छन्। उनीमात्र होइन उनका श्रीमानका कारण उनको गर्भबाट जन्मिएका दुई सन्तानसमेत एचआइभी एड्सको शिकार भएका छन्।

यस्तै, माडी गाउँपालिकाको बूढा परिवारकी ३८ वर्षीया एक महिलालाई गएको माघ महिनामा सुत्केरी हुने क्रममा रगत जाँचका क्रममा एचआइभी एड्स संक्रमण देखियो । उहाँमा संक्रमण देखिएपछि उहाँका श्रीमान्को पनि रगत चेकजाँच भयो । सो क्रममा उहाँका श्रीमान् पनि एचआइभी एड्स संक्रमित भएको पुष्टि भयो ।

त्यतिमात्र होइन उहाँको गर्भबाट जन्मिएको नवजात शिशुमा पनि एचआइभी एड्स संक्रमण देखिएपछि उहाँको सिंगो परिवार नै एचआइभी एड्सको शिकार भएर बाँचिरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवकसँग सुखी जीवन बिताउने सुन्दर सपना देखेर विवाह बन्धनमा बाँधिएकी बूढालाई श्रीमानका कारण आफू र आफ्नो सन्तानसमेत एचआइभी एड्स संक्रमण भएपछि नैराश्यता उत्पन्न हुनेमात्र होइन जीवनदेखि नै घृणा लाग्न थालेको छ ।

उहाँ निर्दाेष हुनुहुन्छ तर पनि संक्रमित भएकै कारण उनले समाजमा तिरस्कृत भएर बाँच्नु परेको छ । “समाजले छिछिदुर्दुर् गर्दा मन रुन्छ । श्रीमान्का कारण आज समाजमा शिर झुकाएर बाँच्नुपर्ने दिन आयो” आँशुका धारा बगाउँदै उनले भनिन् । निर्दाेष हुँदाहुँदै पनि समाजबाट तिरस्कृत भएर बाँच्नुपर्दाको पीडा सायद अन्य व्यक्तिले अनूभूतिसम्म गर्न सक्दैनन् होला” उनले भक्कानिँदै भनिन् ।

यसरी आफू गलत चरित्रको नहुँदा नहुँदै र परपुरुषसँग शारीरिक सम्पर्कमा नजाँदा नजाँदै पनि एचआइभी एड्स संक्रमित भएर बाँच्नुपरेको हुँदा अबका दिनमा विवाह बन्धनमा बाँधिन चाहने सबै युवायुवतीले विवाहपूर्व वा शारीरिक सम्पर्कमा जानु अगाडि प्रवासमा एचआइभी एड्स संक्रमण भए नभएको पत्ता लगाउन रगत जाँच गरेरमात्र विवाह गर्नुपर्ने बूढाले बताइन् ।

आफूले विवाहपूर्व श्रीमानको रगत चेकजाँच गरेर विवाह गरेको भए आज आफ्नो यो अवस्था नहुँने बताउँदै उहाँले विवाह बन्धनमा बाँधिनुभन्दा पहिले नै रगत चेकजाँच गर्नुपर्ने सुझाव दिएकी छन् ।

करीब १८ वर्ष भारतको गढवालतिर रोजगारीमा बिताएर फर्किएका उहाँका श्रीमानलाई समेत आफू एचआइभी एड्स संक्रमित भएकोबारे कुनै किसिमको जानकारी थिएन । तर हतारको निर्णयले उनलाई जीवनभर पछुताउनुबाहेक केही बाँकी छैन ।

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा यी जोडीमा मात्र होइन विवाह पछि वा विवाह अघि गरेर हालसम्म करीब २७ जना महिलामा श्रीमानका कारण एचआइभी एड्स संक्रमण देखिएको छ । यसैगरी, जिल्लामा करीब छ जोडीबाट जन्मिएका सन्तानसमेत एचआइभी संक्रमित भएको तथ्य बाहिर आइसकेको छ ।

“अविवाहित युवा तथा बाँकी जिन्दगी सुन्दर बनाउने सपना देखाएर विदेशिएका श्रीमान् एचआइभी एड्स संक्रमित भएर घर फर्कनु र यसको असर श्रीमती वा छोराछोरीमा पर्न जानुले पनि पछिल्लो पुस्तालाई सचेत बन्न जरुरी देखिन्छ” व्यापारी रीता देवकोटाले भनिन् ।

उनका अनुसार श्रीमानको कुकर्मको सजाय श्रीमती वा सन्तानले पाउनुभन्दा पहिले वा प्रवासीसँग शारीरिक सम्पर्कमा रहनुभन्दा पहिले रगत चेकजाँच गर्नसके पनि एचआइभी एड्सको संक्रमणबाट बच्न सकिन्छ । यस विषयमा सबै युवायुवती तथा प्रवासीका श्रीमान् श्रीमतीसमेत सचेत बन्न उनको सुझाव छ ।


  •  
  •  
  •