खुलेर बाहिर आउन सक्दैनन् एचआइभी संक्रमित

34
  •  
  •  
  •  

रुपन्देही । समाजमा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआइभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने बताए । एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुर्याउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने बताए ।

डा.खनालले एचआइभीको क्षेत्रमा विधि विज्ञानले जुन हिसाबले फड्को मारेको छ । यो सबैको लागि सकारात्मक कुरा भएको बताए ।

डा.खनालले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुले संवेदनशिल भएर पेशालाई मर्यादित बनाउँदै पीडितमैत्री वातावरण अनुसार अगाडी बढनुपर्ने बताए ।

स्वास्थ्य निर्देशनालयका एचआइभी फोकल पर्सन दिवाकर महर्जनले विश्व एड्स दिवसले समाजमा एचआइभीको अवस्थाको विषयमा जानकारी दिने बताए । एचआइभी रोकथामका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने हो भने संक्रमणको दर न्यनीकरण हुने बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले एचआइभी संक्रमणको दरलाई रोकथाम गर्न समुदायलाई सचेतिकरण गर्दे अगाडी बढ्नुपर्ने बताए ।

समाजमा संक्रमितलाई हेर्ने दष्टिकोण परिवर्तन भएमा संक्रमितहरु खुलेर उपचारका लागि आउने र उनीहरुको स्वास्थ्यमा सुधार र आयु लम्बिने बताउँदै अबका कार्यक्रमलाई अगाडी बढाउनुपर्ने डा.गिरीले बताए ।

कार्यक्रममा एएचएफ नेपालका धर्मराज भट्टराईले एचआईभीको संक्रमणलाई रोकथाम गर्नका लागि समुदायलाई सचेतिकरण गर्ने र राज्यका हरेक निकायलाई जवाफदेहि बनाउनुपर्ने बताए ।

स्वस्थ्य जीवन जीउनु हरेक नागरिकको मौलिक अधिकार भएकोले यसलाई सही ढंगले अगाडी बढाउने र एचआइभी भएर बाँचिरहेका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले जस्तो सम्मान पूर्वक बाँच्न पाउने वातावारण सिर्जना गर्नुपर्ने बताए ।

विश्व एड्स दिवसको अवसरमा विभिन्न अस्पतालका स्वास्थ्यकर्मी, एचआइभी एड्सको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुबीचमा एचआइभी एड्सको सन्दर्भमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।


  •  
  •  
  •