हिंसाको अनुसन्धानमा शून्य सहनशीलता : महानिरीक्षक खनाल

740
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिला तथा बालबालिकामाथि हुने हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताएका छन् ।

एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले मंगलबार आयोजना गरेको ‘लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा खनालले भने, ‘अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी संगठनका लागि क्षम्य हुँदैन ।’

खनालले समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न नहुने बताए ।  गत महिना प्रहरीले समाजमा हुने अपराध नियन्त्रण गर्न ‘प्रहरी–समुदाय साझेदारी कार्यक्रम’ ल्याएको भन्दै खनालले यसको सफल कार्यान्वयन भए समाजमा हुने जुनसुकै प्रकृतिका हिंसामा कमी आउने विश्वास व्यक्त गरे । प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको बताउँदै यसले मात्र अनुसन्धान पूरा नहुने उनले स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले परिवारबाटै महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै यसको रोकथाम गर्न व्यक्ति स्वयं सुध्रिनुपर्ने बताइन् ।

खड्गीले स्थानीय तहको निर्वाचनसँगै ९४ प्रतिशत महिला उपप्रमुखमा चुनिएर आएको बताउँदै यसको रोकथामका लागि महिला नै जागरुक हुनुपर्ने बताइन् ।

एशियाली विकास बैँक नेपालका कार्यक्रम संयोजक सुलोचना श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रणमा ८ वर्षदेखि एडिबीले नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताइन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक पुस्कर कार्की र प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले प्रहरीले सीमित स्रोतसाधनकाबीच पनि महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न प्रशस्त काम गरेको बताए । गोष्ठीमा ७७ वटै जिल्लाका प्रहरी कर्मचारीको सहभागिता रहेको छ । गोष्ठी भोली सकिने छ ।


  •  
  •  
  •