सात महिनामा ८ सय ७१ लैंगिक हिंसाका घटना

132
  •  
  •  
  •  

काठमाडौं । सात महिनाको अवधिमा ८ सय ७१ वटा लैंगिक हिंसाका घटना घटेको पाइएको छ ।
संचारिका समूह र ओरेक नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको ‘लैंगिक विभेदमा आधारित हिंसा न्यूनीकरणमा संचार माध्यमको भूमिका’ विषयक कार्यक्रममा सो जानकारी गराइएको हो ।

कार्यक्रममा ओरेक नेपालका कार्यक्रम संयोजक संजिता तिमिल्सिनाले सात महिनाको अवधिमा ओरेक नेपालमा ६ सय १७ घटना दर्ता भएको र संचार माध्यममा २ सय ५४ घटनाका समाचार प्रकाशित भएको बताइन् ।

घरेलु हिंसाबा घटना बढी

ओरेकका अनुसार ६ सय १७ मध्ये सबैभन्दा धेरै ४ सय ३३ घरेलु हिंसाका, १ सय २ सामाजिक हिंसा, १ सय ४९ बलात्कार, २८ बलात्कारको प्रयास, ५२ हत्या, ४२ यौन दुव्र्यवहार, ५ हत्या प्रयास, १३ मानव बेचबिखन, ३ बेचबिखनको प्रयास, १८ आत्महत्या, २६ अन्य घटना घटेका छन् ।

शारीरिक हिंसाका बढी

ओरेकका अनुसार सबैभन्दा बढी महिला शारिरीक रुपमा हिंसामा पर्ने गरेका छन् ।
शारीरिक हिंसाका १ सय ७४, गाली गलौचका ६६, चारित्रिक आरोपका २७, स्रोत साधनबाट वञ्चितमा १ सय ६६ जना महिलाहरु रहेका छन् ।

बोक्सी आरोपका १८ घटना
कानूनले नै बोक्सी आरोपलाई जघन्य अपराधका रुपमा लिएपनि त्यस्ता आरोपभने हट्न सकेको छैनन् ।
ओरेकका अनुसार सात महिनाको अवधिमा १८ जना महिलाहरु बोक्सी आरोपमा परेका छन् ।
यस्तै ४९ वटा बालविवाहका घटना घटेका छन् ।

१७ देखि २५ वर्षका बढी पीडित

ओरेकका अनुसार लैंगिक हिंसामा पर्नेमा सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।
१६ वर्षभन्दा कम १ सय ७८ जना, २६ देखि ३५ वर्ष उमेर समुहका २ सय २४, ३६ देखि ४५ वर्षका १ सय १, ४६ देखि ५५ उमेर समुहका २४ र ५५ देखि माथि १६ जना र थाहा नभएको २४ जना रहेको छन् ।

लैंगिक संवेदनशीलताको अभाव

कार्यक्रममा संचारिका समूहकी अध्यक्ष नितु पण्डितले पछिल्लो समयमा नेपाली संचार माध्यमले लैंगिक हिंसाका समाचारलाई प्राथमिकताका साथ उजागर गर्न खोजेको जस्तो देखिए पनि लैंगिक संवेदनशीलताको अभावमा कतिपय समाचारले पीडितलाई थप पीडा थपिरहेको बताइन् ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समयमा केही अनलाइन र यूटुब च्यानलहरूले पाठक र दर्शक बढाउने उद्देश्यले बलात्कार, बलात्कार प्रयास, हत्या, कुटपिट जस्ता अति संवेदनशील विषयलाई समेत मनोरञ्जनको विषयसरह पस्किरहेको भन्दै यसले पत्रकारितालाई नै बदनाम गर्ने काम गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।


  •  
  •  
  •