हिन्दु राष्ट्रबिनाको संविधान नमान्ने सन्तहरुको चेतावनी

180
  •  
  •  
  •  

रुपन्देही, २६ पुस (ओएनएस) :  नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउन आज बुटवलमा बृहत राष्ट्रिय सन्त सम्मेलन गरी बुटवल घोषणापत्र जारी गरिएको छ ।

बुटवलको सिद्धेश्वरी उच्च माविको प्राङ्गणमा बृहत सभा गर्दै हिन्दु राष्ट्रका पक्षमा अभियान सञ्चालन गर्नका लागि बुटवल घोषणा पत्र जारी गरिएको हो । सनातन वैदिक हिन्दू राष्ट्रको पहिचान संविधानमा यथावत राख्नैपर्ने र यसका लागि नेपालका विभिन्न प्रमुख स्थानहरुमा विशाल आमसभाहरु गर्ने, नेपालमा परम्परादेखि कायम रहेको ॐकार परिवारका सबै धर्म–सम्प्रदाय परिवारका बीचको सम्बन्धलाई अझ सुदृढ र सबल बनाउँदै लैजाने एवं जातजातिलाई एकआपसमा फुटाएर कमजोर बनाई निहित स्वार्थ लिन खोज्ने तत्वलाई निरुत्साहित गर्दै जाने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै धर्मपरिवर्तन अविलम्व रोक्ने र आर्थिक प्रलोभनमा परी धर्म–परिवर्तन गरेर बाटो बिराएकाहरुलाई घर फिर्ता अभियान संचालन गर्ने, संस्कृत शिक्षा तथा नैतिक शिक्षालाई अनिवार्य लागू गर्ने र कन्या गुरुकुल स्थापना गर्दै जाने, घर जग्गा बिक्री गरी वा भाडा दिई धर्मपरिवर्तन गर्ने विधर्मी व्यक्ति वा संस्थाका कार्य रोक्ने, नेपाललाई धार्मिक उपनिवेश बनाउन धर्मपरिवर्तनको मनशाय लिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई तुरुन्तै बन्द गर्ने घोषणा गरिएको छ ।

वैदिक दर्शन अनुसार जीवनका सबै संस्कारका वैज्ञानिक र कर्मकाण्ड विषयमा सन्त सभाले गरेको निर्णयलाई मात्र अन्तिम मान्ने, कुनै पनि प्रकारको जातीय र लैंगिक भेदभाव वैदिक आचरण अनुकुल नभएको सुधारात्मक र चेतनामुलक कार्यक्रमहरु तर्जुमा गर्ने साथै जातीय समानताका कार्यक्रम गर्ने, वेद, उपनिषद आदि दार्शनिक ज्ञान तथा ज्योतिष, योग, आयुर्वेद आदि व्यावहारिक विज्ञानहरुलाई आधुनिक सन्दर्भमा व्याख्या गर्न र प्रयोगमूलक बनाउन डाक्टर, इन्जिनियर, वैज्ञानिक , शिक्षा शास्त्री, समाजशास्त्री, अधिवक्ता, कम्प्यूटर इन्जिनियर लगायतको सहयोग लिने कार्यक्रमहरु तर्जुमा गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी वर्णाश्रम अन्तर्गतका अन्यमा पारिएका जातिलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने, सनातन हिन्दू धर्म र संस्कृतिका लागि युवा परिचालन र महिला परिचालनका नीतिहरु तर्जुमा गरी सशक्त रुपमा अगाडि बढाउने, सनातन हिन्दूराष्ट्र संरक्षणार्थ सन्त सभा नेपाल मार्फत सनातन हिन्दूराष्ट्र संरक्षण सेवा कोषको स्थापना र सनातन धर्म संसद गठन गर्न संयोजन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा राष्ट्रिय सन्त सम्मेलनका संयोजक स्वामी ज्ञानानन्द सरस्वती महाराज, सदस्यहरु स्वामी रामानन्द गिरी, स्वामी आत्मानन्द गिरी, देवराज आचार्य, कमलनयन आचार्य,सम्वुद्घदेव, कैलाशानन्द, मोहनशरण देवाचार्य, कृष्णदास, लोकानन्द, हरिहरानन्द सरस्वती, किशोरकुमार गौतम, जगदाचार्य नेपाली बाबा, डा. चन्द्रकुमार शेर्मालगायतले हस्ताक्षेर गर्नुभएको छ ।

सन्त सम्मेलनमा बोल्ने हिन्दु धर्मका अगुवाहरुले हिन्दु राष्ट्रबिनाको संविधान नमान्ने चेतावनी दिंदै धार्मिक पहिचानका लागि जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका थिए । जबर्जस्ती धर्म परिवर्तन गराउने उद्देश्यले मुलुकलाई धर्म निरपेक्ष घोषणा गरिएको भन्दै उनीहरुले बहुसंख्यक नेपालीको आश्था र भावनामा चोट नपु¥याउन आग्रह गरेका थिए ।


  •  
  •  
  •