न्यून चापीय प्रणालीका कारण देशभर वर्षा र हिमपात

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान
76
  •  
  •  
  •  

काठमाडौं, २४ माघ(ओएनएस) : सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर आज वर्षा र हिमपात शुरु भएको छ ।

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद् बरुण पौडेलले यो प्रणालीले पश्चिममा बुधबार दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौंसम्म आइपुगेको जानकाबताए ।

उनले भने, ‘काठमाडौं पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।’  यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने उनले भनाइ छ ।

उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने समेत बताए ।  हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ ।

शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा हल्का हिमपात हुने मौसमविद् पौडेलको भनाइ छ ।

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ ।

विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ २४ गते (बिहिबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। पश्चिमि र मध्य भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र पूर्वि भेगका केहि स्थानहरुमा हल्का वर्षा हुने प्रबल संभावना देखिन्छ साथै पश्चिमि र मध्य भु-भागको थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने  मध्य र पश्चिमी  उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|


राति
 : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा  र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ|

माघ २५ गते (शुक्रबार)

दिउँसो :   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ|


राति
 : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ साथै पूर्वी भेगका एक दुई स्थानमा भारि वर्षाको संभावना छ | देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

माघ २६ गते (शनिवार)

दिउँसो : देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

राति : देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

 


  •  
  •  
  •