राजमार्गका १६५ होटलमा १५ मात्र खानयोग्य !

122
  •  
  •  
  •  

काठमाडौं, १४ असोज : राजमार्गका होटेल वा रेस्टुरेन्टमा खाना खाने योजना बनाउनुभएको छ भने पहिला त्यहाँ हरियो वृत्ताकार टाँसिएको छ कि छैन,हेर्नुहोला ।यस्तो स्टिकर नटाँसिएको होटल र रेष्टुरेन्टमा खाना खाँदा ठगिने मात्र होइन,बिरामी पनि पर्न सक्नुहुनेछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुरेन्टमा स्थलगत अनुगमन गरी खानयोग्यमा हरियो वृत्ताकार स्टिकर टाँस्न थालेको छ ।

विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार खानयोग्य होटल चिन्न सजिलो होस् भनेर हरियो वृत्ताकार स्टिकर टाँसिएको हो । विभागले अनुगमन गरेका राजमार्गका मलेखुदेखि नवलपरासीसम्मका एक सय ६५ होटलमध्ये १५ वटाले मात्र यस्तो स्टिकर पाएको उनले बताए । ‘बढी मुल्य असुलेर पनि होटल तथा रेस्टुरेन्टले सामान्य स्वस्थकर खाना उपलब्ध नगराएको फेला परेको छ,’कोइरालाले भने,‘अधिकांशको अवस्था तल्लो स्तरको भेटेका छौं । खाना ठसठस गन्हाएको पनि पाइयो ।

भान्छाघरमै ढलको पानी वगेको र कीटाणु हिँडिरहेको अवस्था प्रायः होटलमा भेटियो ।’विभागले होटल तथा रेष्टुरालाई खानाको गुणस्तरको आधारमा चार वर्गमा विभाजन गरेको छ । उत्तमलाई क वर्गमा राखेर हरियो वृत्ताकार स्टिकर प्रदान गरिएको छ । विभागले उपभोक्तलाई हरियो स्टिकर टाँसेको होटलमा मात्र खान आग्रह गरेको छ । उसले हरियो स्टिकर नपाएको खाना अस्वस्थकर भएको जनाएको छ । यसैगरी विभागले केही होटल तथा रेष्टुरेन्टमा सुधार आवश्यक भएको भन्दै ख वर्ग (मध्यम स्तर) मा राखेको छ । यस्ता होटलमा पहेँलो वृत्ताकारमा एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ ।

अन्नपुर्ण पोष्टबाट


  •  
  •  
  •