कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने

942
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर(ओएनएस) । निजी लगानीमा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

सीईडीबी हाइड्रो फण्ड लिमिटेडको सहायक कम्पनी कसुवाखोला हाइड्रोपावर लिमिटेडले संखुवासभामा पर्ने उक्त आयोजना निर्माण गर्न लागेको हो ।

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ ।
पीपीए सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाका प्रवन्ध सञ्चालक विनय भण्डारीले हस्ताक्षर गरेका हुन् ।

आयोजनाले बर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ ।
पीपीए भएकाले आयोजनालाई लगानी जुटाउन सहज भएको सीईडीबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भण्डारीले बताए ।

कसुवा हाइड्रोका प्रवन्ध सञ्चालकसमेत रहेका भण्डारीले आयोजना निर्माण गर्न १० अर्ब रुपैयाँ लाग्ने बताए ।
आयोजना निर्माणका लागि लगानी जुटाउन नबिल बैंकसँग छलफल भइरहेको उनले जानकारी दिए । वित्तीय व्यवस्थापनपछि आयोजना निर्माणका लागि काम सुरु हुने छ ।

आयोजनाको उचाइ पाँच सय मिटर रहेको छ । आयोजना पिकिङ रन अफ दी रिभर प्रकृतिको छ । सीईडीबीको अगुवाइमा ४ मेगावाटको राधीखोला सञ्चालन भइरहेको छ ।

यस्तै दोलखामा ११ मेगावाटको खारेखोला र लमजुङमा १२ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेको छ ।
यस्तै ५ मेगावाटको रुकुमगाड आयोजना पनि निर्माणको तयारी थालेको छ ।


  •  
  •  
  •