हेपाटाईटिस सी संक्रमितलाई राज्यले उपचार नगरेको गुनासो

311
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) :  विश्व हेपाटाइटिस दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपालले हेपाटाइटिसका विरामीहरूलाई राज्यले उपचार नगरेको गुनासो गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले नेपालमा करिव २ लाख मानिस हेपाटाइटिसबाट संक्रमित भएको र यसको उपचार गर्न निकै महँगो भएको भन्दै राज्यले विरामीहरूको उपचारमा पहल गर्नुपर्ने धाराणा राखेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका प्रतिनिधि राजिव काफ्लेले विगतमा आफूहरूले एचआईभी संक्रमितहरूलाई उपचारका लागि पहल गर्दा १० हजार संक्रमितहरूले उपचार गराई नयाँ जीवन पाएको स्मरण गर्दै आगामी दिनमा हेपाटाइटिसबाट संक्रमितहरूले पनि उपचारबाटै नयाँ जीवन पाउने उद्घोष गरेका छन् । उनले भने, ‘गत जुनमा नेपाल सरकार लगायत १९३ मुलुकले विश्व स्वास्थ्य संगठनको साधारणसभा मार्फत हेपाटाईटिस सी को उपचार र परीक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको छ । मलाई आशा छ, नेपालले पनि यसको परिक्षण र उपचार चाँडै शुरु गर्ने छ ।

कार्यक्रममा हेपाटाइटिसका क्षेत्रमा कार्यरत युनियन सी का प्रतिनिधि रोशन सापकोटाले नेपालमा हेपाटाईटिस सी का संक्रमितहरू उल्लेख्य मात्रामा रहेको बताउँदै सरकारले त्यसको परिक्षण र उपचारमा कुनै चासो नदेखाएकोमा गुनासो गरे । सापकोटाले आफूहरू विगत लामो समयदेखि यही क्षेत्रमा काम गरे पनि यस्ता संक्रमितहरूको उपचारका लागि कसलाई भन्ने कहाँ जानेबारे अहिलेसम्म बेखवर रहेको बताउँदै आगामी दिनमा सरकारले यसको उपचारका लागि विशेष पहल गर्नुपर्ने धाराणा राखे ।

विगत १८ वर्षदेखि हेपाटाईटिस सी बाट संक्रमित अमरेश मिश्रले आफ्नो अनुभव सुनाउँदै राज्यले यो रोगबारे कनुै पनि चासो नदेखाएकोमा भने गुनासो गरे । उनले भने–हामील औषधी पनि राम्रो सँग सेवन गर्न पाएको छैन् । छिमेकी मुलुक भारतमा त्यही औषधी भारु ५ हजारमा आउँछ तर उक्त औषधी नेपालमा त्यो पनि काठमाडौमा मात्रै पाउँछ हामीले रु १४ हजार तिर्नुपर्ने हुन्छ । मिश्रले उक्त औषधी हप्तामा १ डोजका दरले सेवन गर्दा बर्षमा ४८ डोज सेवन गर्दा करिव ९ लाख रुपैयाँ खर्च हुने अनुभव सुनाए ।

लागुपर्दाथ तथा दुव्र्यसनीका क्षेत्रमा कार्यरत चन्द्रप्रकाश गुरुङले पनि लागु पदार्थको सेवन गर्नेहरूलाई आफूहरूले औषधीसेवन गर्न प्रेरित गर्दा धेरै जना हेपाटाईटिस सीबाट संक्रमित भएको पाएको बताउँदै अहिले संक्रमितहरू उपचार गर्ने भन्दा पनि झनै दूव्र्यसनीमा फसेको बताए । नेपालमा यसको उपचार शुरु भए संक्रमितहरूले नयाँ जिवन पाउने विश्वास व्यक्त गरे ।


  •  
  •  
  •