गर्भवतीलाई वाँडिएको कुखुराले गाउँमै संक्रमण

490
  •  
  •  
  •  

काठमाडौं १२ साउन (ओएनएस) :
गर्भवती महिलाको पोषण अवस्था सुधार्न जिल्लामा सञ्चालन गरिएको सुआहारा परियोजनाले वितरण गरेका बिरामी कुखुराका कारण १० गाविसमा रोगको संक्रमण फैलिएको छ।

वितरण गरिएका अधिकांश कुखुरा धमाधम मर्न थालेपछि अन्य निरोगी कुखुरा पनि बिरामी पर्न थालेका छन्। गाउँमा कुखुरा बिरामी परी मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयले उपचारका लागि टोली खटाएको पशु चिकित्सक उत्तम आचार्यले बताए।

वितरण गरेका कुखुरा मर्न थालेपछि मासु खाएका गर्भवती महिला त्रसित बनेका छन्। पशु चिकित्सकको टोलीले त्यस्ता कुखुराको मासु नखान अनुरोध गरेको छ भने वितरण कार्य रोक्न परियोजनालाई आग्रह गरेको छ।

परियोजनाले भने अटेर गर्दै अन्य गाविसमा पनि कुखुरा बाँड्न थालेको छ। कमिसनको खेलमा परेर परियोजनाले वितरण गरेका करिब ५० लाखबराबरका कुखुरा मरेका छन्। अन्य कुखुरामा पनि रोगको संक्रमण बढेपछि स्थानीयले क्षतिपूर्ति माग गरेका छन्।

गर्भवती महिला र बालबालिकाको पोषणमा सुधार ल्याउन जिल्लाका १८ गाविसमा लोकल कुखुरा वितरण कार्यक्रम सञ्चालन गरेको सुआहारा परियोजनाका प्रमुख रामप्रसाद अधिकारीले बताए।

वितरण गरिएका १० गाविसमा रोग देखापरेको र उपचारका लागि जिल्ला पशु सेवा कार्यालयसँग समन्वय गरेको उनले बताए।

१८ गाविसमा रहेका दुई हजार आठ सय गर्भवती महिलालाई पाँचवटा कुखुराका दरले १४ हजार कुखुरा वितरण गर्ने कार्यक्रम थियो’, अधिकारीले भने। अहिलेसम्म सात हजार कुखुरा वितरण गरिएको र अधिकांशमा रोग देखिएको उनले बताए।

एउटा कुखुराको करिब सात सयका दरले सात हजार कुखुराको ५६ लाख रुपैयाँ हुने र कमिसनको खेलमा बिरामी कुखुरा बाँडिएको भन्दै रामपुरखडौनाका रामसुभग यादवले गाउँमा मरेका कुखुराको क्षतिपूर्ति माग गरे।

पहिलो चरणमा रुचाङ, डाँडाझेरी, धुर्कोट, हुप्सेकोट, बडहरादुबौलिया, कुस्मा, पक्लिहवा, बैदौली, रामपुर खडौना र बन्जरियामा वितरण गरिएका कुखुराका कारण अन्य कुखुरामा रोगको संक्रमण फैलिएको पशु चिकित्सक आचार्यले बताए।

उनले संक्रमित सबै गाविसमा रहेका कुखुराको उपचार सुरु गरेको र कुस्मामा गर्भवती महिलालाई दिन ल्याइएका ६ सय कुखुरा वितरणमा रोक लगाइएको बताए।
आर टु बी भ्याक्सिन नदिई ढुवानी गरिएकाले वितरण गरिएका कुखुरा मर्न थालेको हुनसक्ने आशंका पशु चिकित्सकले गरेका छन्। आचार्यका अनुसार पहाडमा रानीखेत रोग देखिएको छ भने मधेसमा गम्बारो रोग भेटिएको छ। कुखुरा वितरण गर्न परियोजनाले पछौटेपन उन्मूलन समाजलाई जिम्मेवारी दिएको छ। समाजका कार्यकारीनिर्देशक शालिकराम पाण्डेले कुखुरा उपलब्ध गराउन अर्कैलाई ठेक्का दिइएको र रोग लागेका स्थानमा टोलि पठाएर सचेतनाका कार्यक्रम सञ्चालन गरिएको बताए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •