उपचारबारे भ्रमपूर्ण विज्ञापन गरेर ठगी

153
  •  
  •  
  •  

काठमाडौं ४ फागुन ।
नमुना १
पहिलो व्यक्ति : किन मलिन हो तिमी?
दोस्रो : हेर न, बाथ रोगले आमाको ज्यानै लिने भयो?
पहिलो : किन अत्तिएको? होमियोबारे थाहा छैन? त्यहाँ बाथरोग, डाइबिटिज, थाइराइड, जन्डिस बिग्रिएको, हेपाटाइटिस, महिनावारी गडबढी, उच्च रक्तचापका नयाँ तथा पुराना रोगका साथै बिग्रिएको पाइल्सजस्ता समस्याको बिनाशल्यक्रिया ग्यारेन्टीसाथ उपचार गरिन्छ।

नमुना २
तपार्इंमा यौन समस्या, छारेरोग, डिप्रेसन, वाकवाकी लाग्ने, रिस उठ्ने, माइग्रेन, पिनास, न्युरो, ढाड दुखाइ, आँखा फर्फराउने, प्रेसर, सुगर, फिस्टुला, पत्थरी, पायल्स, मन डराउनेजस्ता समस्या छन् भने ग्यारेन्टीसाथ उपचार हुन्छ। त्यसका लागि आजै नाम लेखाउनुहोस् ग्यारेन्टी उपचार केन्द्र सोह्रखुट्टे।

सामान्यदेखि दीर्घरोगसम्मको उपचार ग्यारेन्टीसाथ गर्ने दाबी गरिएका यस्ता विज्ञापन रेडियो, टेलिभिजन र पत्रपत्रिकामा दिनहुँ सुनिन्छन्, देखिन्छन्। यस्ता विज्ञापन प्रसारण/प्रकाशन गराउने अधिकांश ‘ग्यारेन्टी उपचार केन्द्र’ हरूले अनावश्यक उपचार र औषधि थोपरेर सर्वसाधारण ठगिरहेको पाइएको छ।

नेपाल मेडिकल काउन्सिल ऐनले अस्पतालमा उपलब्ध हुने वैज्ञानिक तथा प्रमाणित चिकित्सा सेवाबाहेकका विषयमा सार्वजनिक विज्ञापन गर्न रोक लगाएको छ। भ्रम सिर्जना नहुने गरी अस्पताल एवं क्लिनिकमा टाँस्ने गरी मात्र विज्ञापन गर्नू भनी ऐनले किटान गरेको छ। यसविपरीत कमजोर सरकारी अनुगमनको फाइदा उठाउँदै ग्यारेन्टीसाथ उपचार गर्ने दाबा गरिएका विज्ञापन बग्रेल्ती भेटिन्छन्। त्यस्तै विज्ञापनको चंगुलमा परेर उपचार गराउँदा रोग बिग्रिएर थप कष्ट झेल्नुपरेका उदाहरण थुप्रै छन्। राजधानीको वीर अस्पतालमा मात्र दैनिक दुई–तीन जना त्यस्ता बिरामी आउने गरेको चिकित्सक बताउँछन्।

वीरका कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार प्रामाणिक संस्था र वैज्ञानिक रूपमा जाँच गरी योग्य मान्छेले उपचार गर्दा रोग निको हुने सम्भावना बढी भए पनि ‘ग्यारेन्टी’ भन्ने शब्द स्वास्थ्यमा हुँदै हुँदैन। यस्तै ग्यारेन्टीको पछि लागेर जथाभाबी भष्म, चुर्णजस्ता औषधि खाएर रोग जटिल भएका बिरामी वीरमा ठूलो संख्यामा आउने गरेको उनले बताए।

‘जन्डिस रोगै हैन, तैपनि ग्यारेन्टी उपचार भनेर विज्ञापन आइरहेको सुन्छु,’ उनले भने, ‘जथाभाबी औषधि खाएर कलेजो बिग्रिएका बिरामी दैनिक २/३ जना आउँछन्।’

खासगरी दीर्घरोग तथा सामान्य मानसिक गडबढीका कारण उत्पन्न हुने समस्याबाट फाइदा उठाएर विज्ञापनमार्फत ध्यान तान्ने र गलत उपचार गरेर ठग्ने प्रवृत्ति बढ्दै गएको चिकित्सक बताउँछन्।

‘स्वास्थ्य उपचारमा ग्यारेन्टी भनेर विज्ञापन गर्नु सरासर ठगी नै हो,’ स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले नागरिकसँग भने, ‘यस्ता विज्ञापनबाट सर्वसाधारणले जोगिनु जरुरी छ।’

देशभर ग्यारेन्टीसाथ उपचार हुने भनी प्रचार गरिएका अधिकांश ठाउँमा विशेषज्ञ चिकित्सकसम्म हुँदैनन्। भौतिक पूर्वाधार पनि देखिँदैन। तिनीहरू सानो कोठा, छिँडीमा सञ्चालन गरिएका हुन्छन्। विज्ञापन गर्नेमा आयुर्वेदिकसँगै एलोप्याथिक चिकित्सा पद्धति अवलम्बन गरेका साना अस्पतालसमेत छन्।

‘राजधानीबाहिरका अस्पतालले त राजधानीबाट फलानो डाक्टर आउँदै हुनुहुन्छ भनेर समेत विज्ञापन गर्ने प्रवृत्ति छ,’ डा. लोहनीले भने।

वीरका कलेजो रोग विशेष डा. शर्माका अनुसार यस्ता संस्थाले गलत सन्देश दिएर लुट्नुका साथै गलत उपचार गरेर स्वास्थ्यमा जोखिम थपिरहेका छन्। धेरैजसो आयुर्वेदिक वा अन्य खालका चुर्ण, भष्ममा एलोप्याथिक औषधिलाई धुलो बनाएर हाल्ने गरिएको र बढी डोज दिएर छिटो निको पार्ने गरिएको हुन सक्ने उनले बताए।

‘कि एलोप्याथिक औषधि मिसाउँछन् कि साइकोलोजिकल बिरामीलाई ग्यारेन्टीसाथ निको पार्छौं भन्दै भावनामा खेलेर निको पारेको भ्रममा पार्छन्,’ उनले भने।

मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय यसमा सहमत छन्। आफैंमा गम्भीर समस्या नभएका बिरामीमा हुने डरको फाइदा उठाएर कमाउने प्रवृत्ति बढेको उनको भनाइ छ।

जनरल फिजिसियन डा. डिपी सिंहको अनुभवमा यस्ता विज्ञापनबाट सामाजिक मनोविज्ञानमा आधारित यौनरोग, मोटोपन घटाउने मोह, उच्च रक्तचाप भएका तथा मधुमेहको नियमति औषधि खान हिच्किचाउने प्रवृत्तिका मानिस भ्रममा पर्ने गरेका छन्।

‘जंकफुड, खानेतेल र चामललाई पनि स्वास्थ्यप्रतिको डरसँग जोडेर विज्ञापन गर्ने प्रवृति बढ्दैछ,’ उनले भने, ‘छिँडीका पसलबाटै रोग निको हुने भए त ठूला अस्पताल र चिकित्सक किन चाहिन्थ्यो र?’ उच्च रक्तचाप, मधुमेह, थाइराइडजस्ता समस्यामा जथाभाबी उपचारको ग्यारेन्टी गर्न नमिल्ने उनले बताए।

स्वास्थ्य सेवाको विज्ञापन गर्ने अधिकांश केन्द्रले मानिसको मानसिकताजन्य कमजोरीको फाइदा उठाइरहेको डा. उपाध्याय बताउँछन्। उनका अनुसार सामान्यतया मानिसमा अचानक मर्छु कि, बहुलाउँछु कि र हिँड्दाहिँड्दै बेहोस हुन्छु कि भन्ने डर हुन्छ। ‘यिनै तीन मुख्य डरकै कारणबाट अनिद्रा, यौन समस्या, तनाव, आँखा तथा विभिन्न अंग फर्फराउने समस्या देखा पर्छन्, यिनीहरू रोगजन्य समस्या होइनन्,’ उनले भने, ‘मैले हेर्ने दस बिरामीमध्ये तीन जना यस्तै केन्द्रदेखि विभिन्न प्रयोगशाला र डाक्टरकोमा धाई लाखौं सिध्याएर पनि निको नभएपछि आएका हुन्छन्।’

डा. उपाध्यायका अनुसार उनीहरूमा यही कारण दिसापिसाब गइरहन मन लाग्ने, मुटु हल्लिने, पसिना आउने, मुख सुक्ने समस्या हुन्छ। यस्तो अवस्थामा सबै परीक्षण गर्दा पनि रोग देखिँदैन र समस्या बढ्दै गएपछि विज्ञापनको भ्रममा पर्छन्। नागरिकबाट


  •  
  •  
  •