वीरमा पेइङको सट्टा ओपिडी, १५० मा हुने उपचार अब २० रुपैयाँमै

73
  •  
  •  
  •  

काठमाडौं २९ असोज ।
वीर अस्पतालले दिउँसोको ‘पेइङ’ सेवालाई साधारण ओपिडीमा परिवर्तन गर्ने भएको छ । अस्पतालको नयाँ व्यवस्थाले प्रतिटिकट एक सय ५० रुपैयाँ लिएर गर्ने उपचार अब २० रुपैयाँमै हुनेछ ।

वीर अस्पतालमा दिउँसो एकदेखि चार बजेसम्म प्रतिटिकट एक सय ५० रुपैयाँ लिएर पेइङ सेवा सञ्चालित थियो । तर, अब सोही समयमा २० रुपैयाँमै परीक्षण हुने ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । तिहारलगत्तै दिउँसोको पेइङ सेवाको सट्टा ओपिडी सेवा सञ्चालन गर्ने तयारी भएको अस्पतालले जनाएको छ ।

नयाँ व्यवस्थासँगै तिहारपछि वीरमा बिहान र दिउँसो गरी दुई सिफ्टमा ओपिडी सञ्चालन हुनेछन् । बिहानको ओपिडी नौदेखि एक बजेसम्म र दिउँसोको ओपिडी एकदेखि चार बजेसम्म सञ्चालन हुनेछ ।

‘हामीले वीरमा दिउँसोको पेइङ सेवा हटाएर त्यो समयमा दिउँसोको ओपिडी सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. गणेश गुरुङले नयाँ पत्रिकासँग भने, ‘तिहारपछि त्यसको शुभारम्भ हुँदै छ ।’ उनले वीरमा पेइङभन्दा ओपिडी सेवा बढी प्रभावकारी देखिने भएपछि जनहितका लागि दिउँसोको सिफ्टमा ओपिडी सञ्चालन गर्न लागेको दाबी गरे ।

वीरले सञ्चालन गर्दै आएको पेइङमा अपेक्षाअनुसार बिरामी नआएपछि अस्पताल प्रशासनले सेवा परिवर्तन गरी ओपिडी सञ्चालन गर्न लागेको स्रोतको दाबी छ । ‘विशेषज्ञ चिकित्सकहरू बिहानको ओपिडीपछि दिउँसो निजी अस्पताल तथा क्लिनिकहरूमा धाउने गरेपछि पेइङमा जाने बिरामीलाई पनि आवासीय चिकित्सकहरूकै भर पर्नुपर्ने अवस्था थियो,’ स्रोतले भन्यो, ‘सोही कारण बिरामी कम आउन थालेका थिए । महँगो शुल्क तिरेर पनि आवासीयको भर पर्नुपर्ने अवस्थाले बिरामी आउन कमी भएको थियो ।’

तर, अस्पतालका कार्यकारी निर्देशक डा. स्वयंप्रकाश पण्डितले पेइङमा आउने बिरामीलाई पनि पालो कुर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै जनहितका लागि सेवा परिवर्तन गर्न लागिएको बताए । उनले भने, ‘हामी एक सय ५० रुपैयाँको सेवा २० रुपैयाँमै दिन लाग्दै छौँ यो झनै राम्रो हो ।’

आगामी ११ कात्तिकदेखि अस्पतालमा विद्युतीय हाजिरी सुरु गर्न लागिएको भन्दै चिकित्सक तथा कर्मचारीहरू तोकिएको ड्युटी छाडेर भाग्न नपाउने पनि पण्डितले दाबी गरे । ‘अहिलेसम्म हाजिरी व्यवस्थित थिएन, तर अब बिहान आएपछि र जाने वेलामा हाजिर गर्नुपर्ने व्यवस्था गर्दै छाँै,’ उनले भने, ‘तिहारको तेस्रो दिनबाट यो लागू हुनेछ । त्यसैले तोकिएको समयसम्म सबैजना बस्नैपर्ने हुन्छ ।’

मुलुककै जेठो वीर अस्पताल झन्डै २० करोड घाटामा छ । उपचार सेवालाई प्रभावकारी बनाउन उपकरण थप गर्ने तथा सेवालाई व्यवस्थित गर्नेतर्फ अघि बढेको अस्पतालले प्रशासनले जनाएको छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •