काठमाडौं, ३० साउन (ओएनएस) : बाढी पीडित नागरिकको सहयोगका लागि सशस्त्र प्रहरीले एक करोड ८८ लाख एकहत्तर हजार पाँचसय ९३ रुपैयाँ प्रदान गरेको छ । उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको छ । प्रधानमन्त्री शुशिल कोइरालासमक्ष सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले शुक्रवार उक्त रकमको चेक हस्तान्तरण गरे ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नको लागि सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षक र नायव महानिरीक्षकले पाँच दिनको तलब बराबरको रकम प्रदान गरेका छन भने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र उपरीक्षकले तीन दिनको तलब तथा सशस्त्र प्रहरी नायव उपरीक्षक र निरीक्षकले दुई दिनको तलब बराबरको रकम प्रदान गरेका छन् ।
यसैगरी जुनियर अधिकृत तथा विल्लादार जवानले एक दिनको तलव बराबरको रकम प्रदान गरेका छन् ।
यसअघि सिन्धुपाल्चोक जिल्लाको माङ्खा गाविस १ जुरेस्थित सुनकोशी नदिमा गएको पहिरोबाट पीडित स्थानीय नागरिकको सहयोगार्थ सशस्त्र प्रहरी बलले यही साउन २४ गते करीव १९ लाख रुपैयाँ बराबरको सामाग्री जिल्ला दैवीप्रकोप उद्धार तथा राहत वितरण उपसमिति सिन्धुपाल्चोकलाई हस्तान्तरण गरेको छ ।
सोही राहत वितरण उपसमितिलाई त्यसैदिन सशस्त्र प्रहरी परिवार महिला संघले करीव तीन लाख रुपैयाँ बराबरको चालम, दाल, भाँडावर्तन, औषधी लगायतको राहत सामाग्री प्रदान गरेको छ ।