भूकम्पपछिको राहत तथा पुनर्निर्माणका लागि दस करोड संकलन

259
  •  
  •  
  •  

help nepal network reliefवाशिंगटन डीसी, ७ मंसिर(ओएनएस) : हेल्प नेपाल नेटवर्क युएस शाखाले नेपालमा भूकम्प पछिको राहत तथा पुनर्निर्माणका लागि अहिलेसम्म दस लाख अमेरिकी डलर (झन्डै दस करोड रुपैया) संकलन भएको जनाएको छ ।

उक्त रकममध्ये पाँच करोड रूपैयाँ बराबरको राहत सामग्री स्वयंसेवीहरुको सहयोगमा हेल्प नेपाल नेटवर्कको काठमाडौँ कार्यालयले भूकम्प प्रभावित १७ जिल्लाहरुमा वितरण गरिसकेको नेटवर्कले जानकारी दिएको छ ।

गत बैशाख १२ गते नेपालमा विध्वंसकारी भूकम्प जानासाथ नेटवर्कले संसार भरि फैलिएका नेपालीहरु तथा नेपालका मित्रहरुलाई सहयोगकालागि अपिल गरेको थियो । “हामी हाम्रो अपिल प्रति सहयोगदाताहरुले दर्शाउनु भएको प्रतिक्रियाबाट अत्यन्तै उत्साही भएका छौ । हामी सबै सहयोगीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ,” शाखाका अध्यक्ष अभय श्रेष्ठले भने । उनले सबै स्वयंसेवक तथा साझेदार संस्थाहरुप्रति आभार पनि व्यक्त गरेका छन् ।

नेटवर्कले संकलित रकमबाट अस्थायी आवासहरू, अस्थायी सिकाई केन्द्रहरू तथा शौचालय बनाउन सहयोग गरेको थियो । यस्तै १० जिल्लाहरुमा स्वास्थ्य शिविरहरु संचालन गरेको थियो ।

दोस्रो चरणमा भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणमा सघाउने पनि नेटवर्कले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

हेल्प नेपाल नेटवर्कले शिक्षा विभागसँग मिलेर भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माण नमुना तयार गर्न पनि काम गरिरहेको छ । सिन्धुपाल्चोक र नुवाकोटमा सहयोगका लागि केहि विद्यालयहरु छनोट गरि सकिएको र सन् २०१६ मा खासगरी विद्यालय पुनर्निर्माणमा ध्यान केन्द्रित गरिने पनि श्रेष्ठले जनाए ।


  •  
  •  
  •