तोप्लेजुङ हेलिकप्टर दुर्घटना : छानबिन समितिद्वारा घटनास्थलको अवलोकन

372
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन(ओएनएस) : ताप्लेजुङ हेलिकप्टर दुर्घटनाको छानबिन गर्नसरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनास्थलको अवलोकन गरेको छ ।

हेलिकोप्टरबाट आइतबार घटनास्थलको अवलोकन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं छानबिन समितिका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए ।

मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ‘एरियल भ्यू’ मार्फत नै सो क्षेत्रको अवलोकन गरिएको उनको भनाइ छ ।

करिब ३/४ पटक नै हेलिकोप्टरलाई सो क्षेत्रको नजिकै लान लगाएर त्यहाँको अवस्था हेरेको उनको भनाइ छ ।
गत फागुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारसहित सात जनाको निधन भएको थियो ।

दुर्घटना लगतै सरकारले पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

सोही छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पाटपुर्जा र प्रमाण नभेटिएको निष्कर्ष समेत निकालेको छ ।

समितिले घटनास्थलको प्रकृति तथा स्थानीयहरुसँगको कुराकानीका आधारमा दुर्घटना मौसमकै खराबीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । टोलीले चुहानडाँडा, पाथीभरालगायतका स्थानीय तथा प्रत्यक्षदर्शीसँग समेत कुराकानी गरेको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारी अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकोप्टरका पाइलट प्रभाकर केसी निधन भएको थियो ।

सो दुर्घटनाको छानबिन समितिमा पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमसहित सहायक रथी दिपक प्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य तथा उपसचिव लामिछाने सहसचिव रहेका थिए ।


  •  
  •  
  •