सरकारी डाक्टरका निजी अस्पताल

126
  •  
  •  
  •  

काठमाडौं १६ भदौ ।
– डा. सिनेन्द्र उप्रेती, स्वास्थ्य विभाग महानिर्देशक

भेरी अञ्चल अस्पतालमा सिटिस्क्यान मेसिन ल्याएको वर्ष पुगिसकेको छ। तर प्राविधिकले विद्युत् भोल्टेजलाई निहुँ बनाएर बिरामीलाई निजी अस्पताल रिफर गर्छन्। वर्षौंदेखि आईसीयूको माग भइरहे पनि चासो दिइएको छैन। विशेषज्ञ चिकित्सकहरू अञ्चल अस्पतालमा भेटिँदैनन्।

किनभने यहाँका नाम चलेका विशेषज्ञ चिकित्सकहरूले अञ्चल अस्पतालको पाँच सय मिटर दूरीभित्रै आआफ्ना निजी अस्पताल खोलेका छन्। त्यस्ता ६ वटा खुलिसकेका छन्।

अस्पताल प्रमुख डा. पीताम्बर सुवेदी एकपछि अर्को निजी अस्पताल खुलेकाले मध्यम तथा उच्च वर्गका बिरामी सरकारीमा आउनै छाडेको बताउँछन्। ‘सरकारी त गरिबको अस्पताल भइसक्यो,’ उनले भने, ‘डाक्टरले सरकारीमा नाम र आफ्नो अस्पतालबाट दाम कमाउने गरेका छन्।’

तर डा. सुवेदी आफैंले सुर्खेतरोडमा बाल अस्पताल सञ्चालन गरेका छन्। उनी निजी र सरकारी दुवै अस्पतालका प्रमुख हुन्। वरिष्ठ अर्थो सर्जन डा. विनोदकुमार थापा र स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले भेरी अस्पतालमै कम्पाउन्ड जोडेर वेस्टर्न अस्पताल चलाएका छन्। अर्का सर्जन डा. सुरेशकुमार नागको पासाङ ल्हामु रोडमा वैष्णवी अस्पताल छ। अस्पताल विकास समितिले नियुक्त गरेका डा. रणधिरकुमार झा कैपाल हस्पिटल एन्ड कलेजमा पि्रन्सिपल छन्। त्यस्तै, कुमारसान शाहले सुरक्षित गर्भपतन सेवा दिन हेल्थ रिसर्च सेन्टर सञ्चालन गरेका छन्।

अस्पतालका पूर्वप्रमुख एवं वरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले समेत भर्खरै विद्युत् रोडमा माँ जानकी अस्पताल खोलेका छन्। त्यस्तै, फिजिसियन डा. राजन पाण्डेको संलग्नतामा सिद्धार्थ अस्पताल सञ्चालनमा आउँदै छ। पेटरोग विशेषज्ञ डा. संकेत रिसालसमेतको संलग्नतामा बीपी चोकमा नेपालगन्ज युनाइटेड अस्पताल सञ्चालनमा छ। प्रमुखबाट हटाइएपछि केही समय डा. यादव उक्त अस्पतालको प्रमुख भएर बसेका थिए।

चिकित्सक मात्र होइन, नर्सहरूसमेत सरकारी र निजी दुवैमा संलग्न छन्। भेरीकी छैटौं तहकी स्टाफ नर्स सुभद्रादेवी बिष्ट वेस्टर्न नर्सिङ क्याम्पसकी पि्रन्सिपल छिन् भने हरिकला केसी त्यहाँ पनि काम गर्छिन्। त्यस्तै, रामकुमारी बुढ्थापा, भारता शर्मा, शारदाकुमारी चौधरी, आइतीसिंह श्रेष्ठ, सुभद्रा रोका मगर र लक्ष्मी केसी पनि भेरी तथा नेपालगन्ज मेडिकल कलेज दुवैमा स्टाफ नर्स छन्। अहिलेकै तलब सुविधाले सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक रोक्न नसकिने डा. सुवेदी बताउँछन्।

‘लाखौं, अझ भनौं झन्डै करोड खर्च गरेर विशेषज्ञ डाक्टर बनेर आएको हुन्छ,’ उनले भने, ‘न्यूनतम तलबमा निर्वाह चल्दैन। निजी प्राक्टिस रोक्ने हो भने सरकारीमा कोही काम गर्दैन।’

स्वास्थ्य सेवा ऐनले भने सरकारी सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य विभागको स्वीकृतिबिना अन्यत्र काम गर्न नपाइने व्यवस्था गरेको छ। चिकित्सकहरूले क्लिनिक चलाउन अनुमति लिएका छन्। आफैं निजी अस्पताल सञ्चालन गर्न भने नपाइने व्यवस्थाले नातेदारका नाममा दर्ता गराएका छन्।

डा. थापा दम्पतीले सुरुमा आफ्नै कर्मचारी पृथ्वी चौधरीको नाममा वेस्टर्न अस्पताल दर्ता गरेका थिए। अहिले भने एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत छोरा राहुल थापामा नामसारी भएको छ। डा. सुवेदीको अस्पताल भाइको नाममा दर्ता छ भने डा. यादवको छोरीको नाममा। त्यस्तै, डा. नागले सालालाई अस्पताल सञ्चालक देखाएका छन्।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक शिवदत्त भट्टले चिकित्सकहरूले ऐनविपरीत निजी अस्पताल खोल्ने र पर्याप्त समय नदिए पनि कारबाही कसले गर्ने प्रस्ट नहुँदा सरकारी अस्पतालहरू लथालिंग भएको बताए। ‘स्वास्थ्य विभाग र मन्त्रालयले नियन्त्रण गर्नुपर्ने हो,’ उनले भने, ‘डाक्टरहरू कसैको नियन्त्रणमा छैनन्। त्यसैले बेथिति मौलाएको छ।’

चिकित्सकहरू ओपीडीमा बिरामी जाँचेर विभिन्न परीक्षण गर्न पठाउँछन्। तर रिपोर्ट नआइपुग्दै क्लिनिक वा निजी अस्पताल गइसक्छन्। त्यसले छिटो उपचारका लागि आएका बिरामी उनीहरूकै क्लिनिक तथा अस्पताल जान बाध्य हुने गरेका छन्। कतिपय चिकित्सक ड्युटी समयमा अस्पताल नगएर निजीमा बस्ने गरेका छन्। ‘आधा घन्टा पनि सरकारी अस्पतालमा सेवा नगर्ने विशेषज्ञ डाक्टरहरू पनि छन्,’ स्रोतले भन्यो। त्यस्तै, सरकारी अस्पतालमा हप्तौं अपरेसनको पालो कुर्न लगाइन्छ। सिकिस्त बिरामीलाई निजी अस्पतालमा गएर अपरेसन गर्न बाध्य पार्ने गरिएको छ। सरकारी सेवामा रहेका चिकित्सकले निजी अस्पताल खोल्न वा संलग्न हुन नपाउने प्रस्ट कानुनी व्यवस्था रहेको स्वास्थ्य विभागका महानिर्देशक डा. सिनेन्द्र उप्रेतीले बताए। ‘सरकारी पदमा बसेर निजी अस्पताल खोल्न मिल्दैन,’ उनले कान्तिपुरसित भने, ‘यो कानुनी मर्यादा, नैतिकता र आचारसंहिता विपरीतको काम हो। उनले स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा कडाइ गरिने प्रतिबद्धता जनाए।
कान्तिपुरबाट


  •  
  •  
  •