जाजरकोटमा थप १ को मृत्यु, स्वास्थ्यकर्मी पनि बिरामी

230
  •  
  •  
  •  

जाजरकोट, २ बैशाख(ओएनएस) : जाजरकोटको विभिन्न गाविसमा फैलिएको सिजनल फ्लुबाट थप एक जनाको मृत्यु भएको छ । बुधबार बिहान थप एकको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १७ पुगेको छ । तालेगाउँ-७ का ५८ वर्षीय दलबहादुर शाहीको बुधबार बिहान मृत्यु भएको हो ।

यस्तै, स्थानीय पैक स्वास्थ्य चौकीका इन्चार्ज रामकृष्ण गिरी बिरामी परेका छन् । लामो समयदेखि जाजरकोटमा फैलिएको फ्लूबाट बिरामी परेका गिरीलाई थप उपचारका लागि सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ ।

रेडक्रस सोसाइटीका गाविस संयोजक हेमन्त रावलका अनुसार मंगलबारदेखी पैक गाविसमा बिरामीको संख्या भने घटेको छ । जिल्लामा महामारी नै फैलिन थालेको भन्दै आज जिल्ला प्रकोप पूर्व तयारी समितिको बैठक बस्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले जानकारी दिएका छन् ।

यस्तै, मृत्यु भएका केही मानिसमा स्वाइन फ्लुको संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । आज पनि बिहानैदेखि विभिन्न गाविसका उच्चच क्षेत्रमा सिमसिमे पानी परिरहेकोले संक्रमण बढ्न सक्ने स्वास्थ्कर्मीहरुले बताएका छन् ।


  •  
  •  
  •