काठमाडौं १६ माघ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले छ महिनादेखि दुई वर्ष लगाएर जहाज तथा सडक मार्गको उपयोग गरी १७/१८ मुलुकमा सवारी साधनको जोखिमपूर्ण यात्रा गर्दै नेपाली युवाहरुलाई अमेरिका पुर्याउने कार्य रोक्न संसदको परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपालीहरु बर्षौ लगाएर लाखौ पैसा खर्च गरेर डुंगा, पानी जहाज, ट्रक, रेल, पैदल, तेलको ट्याङर, मालबाहक सवारी साधनबाट विभिन्न मुलुक हुदै अमेरिका प्रवेश गर्ने गरेका छन् । यात्राका क्रममा कतिपयको अमेरिका नपुग्दै मृत्यु हुने गरेको भन्दै यसमा मन्त्रालय गम्भिर हुन समितिले निर्देशन दिएको हो ।
समितिले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकासम्म गरिने मानब तस्करीबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारीको लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र कामु सचिव शंकरदास मैनालीलाई समितिमा विहिबार बोलाएको थियो ।
अमेरिका पुग्ने सपना बोकेर ल्याटिन अमेरिका हुँदै गैरकानुनी बाटोबाट तस्करीमा लगिएका धेरै नेपाली युवाहरु बिभिन्न देशका कारागारमा रहेको, बाटैमा कतिपयको मृत्यु हुनेगरेको सुचना पाएपछि उनीहरुको अवस्थाबारे स्पष्ट जानकारी गराउन र सत्य तथ्य खोज्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।
मानब तस्कर र तीनका दलालहरुले काठमाडौबाट दिल्ली, थाइल्याण, कम्बोडिया, भियतनाम, दुबइ, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्याउने गरेका छन् । २० लाखमा नै अमेरिका पुर्याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने उनीहरुको नियत रहेको पनि समितिले उजागर गरेको थियो ।
अमेरिका पुग्ने सपनामा एक नेपालीले ४० देखि ५० लाखसम्म बुझाउने गर्छन् । दलालहरुले नेपाल देखि ब्राजिलसम्म २२ लाख र ब्राजिल पछि मुलुकै पिच्छे फरक/फरक रकम लिने गरेका छन् । काठमाडौं बाट हवाइजहाज बाट बिभिन्न मुलुकहुँदै बोलिभिया सम्म र बोलिभिया देखि मेक्सिको सम्म सडक मार्ग बाट उनीहरुलाई पुर्याइने गरिन्छ ।
मानव अधिकारबादी संस्था ‘नो मोर डेथ’ को तथ्याङ अनुसार सन् २००० यता ब्राजिल देखि मेक्सिको सम्म अमेरिका हिडेका तर पहिचान नखुलेका २ हजार ६ सय ४९ जनाको शब भेटिएको छ । यसरी भेटिएका शब एक महिना भित्र कसैले नबुझेमा त्यतै गाडिन्छ ।
‘त्यसमध्ये कति नेपाली होलान भन्ने पत्ता लगाउन गाह्रो रहेछ,’ समितिका सभापति शुशिल कुमार श्रेष्ठले भने, ‘कुनै एउटा देशको टुरिष्ट भिषा लगाएर हिडेकेा नेपालीले बिभिन्न बाटो हुँदै बोलिभिया पुगेपछि पासपोर्ट लगायत आवश्यक कागजात च्यातेर फाल्नुपर्ने रहेछ ।’
उनका अनुसार कुनै पहिचान नखुल्ने हिसाबले बिभिन्न मुलुक छिर्ने भएकाले एकिन तथ्याङ पाउन गाह्रो छ । यात्राको अवधिभर प्रायः घर परिवारसंग टेलिफोन सम्पर्क नहुने भएकाले आफ्नो परिवारको सदस्य कहाँ पुगिरहेको छ, मर्यो कि बाँच्यो भन्ने सम्म थाहा नहुने अवस्था रहेको जानकारी आफूहरुले पाएको परराष्ट्रमन्त्रीलाई उनीहरुले सुनाएका थिए ।
०७० जेठमा कोलम्बियामा २ र पानामा १ नेपालीको मृत्यु भएको तथ्याङ छ । दुई वर्षअघिको बोलिभियाली अध्यागमनको तथ्याङकअनुसार दुई महिनाको अवधिमा मात्रै ५ सय नेपाली युवा तस्करीमा परी अमेरिका छिरेका थिए ।
अमेरिकाको यूएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटिको तथ्याङक अनुसार सन् २००४ देखि सन् २०१३ सम्म १ हजार ५ सय ४१ नेपाली गैरकानुनी रुपमा अमेरिका पुगेका छन् । नौ वर्षको अवधिमा यी नेपालीहरु मानव तस्करको सहायताबाट अमेरिका छिरेका हुन् ।
कान्तिपुरबाट