इनर्जी हिलिङले सहज उपचार

176
  •  
  •  
  •  

काठमाडौं १८ माघ ।  न यो कुनै ठूलो अस्पताल हो न यहाँ ठूला उपकरण नै छन्। न त कुनै औषधि नै प्रयोग गरिन्छ । एउटा सानो घरमा सञ्चालन भएको इनर्जी हिलिङ पद्धतिबाट जटिल रोगको उपचार भइरहेको छ। नाम चलेका अस्पतालले शल्यक्रिया गर्नुपर्छ भनेका बिरामीसमेत हिलिङ पद्धतिले निको भएका छन्। इनर्जी हिलिङ सियोजस्तो निडल, वाप तथा सामान्य मसाजको भरमा उपचार गर्ने पद्धति हो। यसमा कुनै पनि औषधीको प्रयोग हुँदैन। यो पद्धतिले शरीरमा आवश्यक शक्तिसन्तुलन राख्नु पर्छ भन्ने मान्यता राख्छ।

शरीरमा कुनै असजिलो अनुभव भयो कि त कोटेश्वरका ५५ वर्षीय मनोहर अधिकारी तीनकुनेस्थित इनर्जी हिलिङ सेन्टर पुग्छन्। मधुमेह, उच्च रक्तचाप र नसाको समस्याले थला परेका उनी यही इनर्जी हिलिङकै सहाराले अहिले स्वस्थ बनेका छन्।
खुट्टाको नसा फुलेका र मधुमेहले थला परेका उनलाई दिल्लीको गंगाराम, नेपालको वीर र टिचिङ अस्पतालले खुट्टा नै काट्नुपर्ने बताएका थिए। त्यसपछि उनी चिन्तित बने। साथीहरुमार्फत यो उपचारको सहारा लिन पुगेका उनले लगातार तीन महिना उपचार गराउँदा स्वस्थ भए। ‘खुट्टा पनि काट्नुपरेन, पे्रसर र मधुमेह पनि दुवै नियन्त्रणमा छन्,’ शुक्रबार सेन्टरमा हिलिङ गर्न पुगेका उनले भने।
आधुनिक चिकित्सा पद्धतिले शल्यक्रिया गर्नुपर्छ भनेको रोग एकाएक निको भएपछि उनी अहिले दंग छन्। ‘यहाँ आएपछि मैले जीवन पाएँ,’ उनले भने। अधिकारी त्रिभुवन विश्वविद्यालयका कर्मचारी हुन्।
प्युठानका ४६ वर्षीय चोपलाल आचार्य पनि यतिखेर अप्रेसनबिना नै निको भएका छन्। उनी पनि इनर्जी हिलिङकै उपचारबाट निको भएका हुन्। ढाडमा नसा च्यापिएपछि उनी उठ्न र बस्न नसक्ने अवस्थामा थिए। उनलाई पनि वीर र काठमाडौं मोडेल अस्पतालले शल्यक्रिया गर्नुपर्ने बताएका थिए। ‘दुई कोर्सको उपचारपछि पूरै निको भएँ, अहिले नियमित काममै छु,’ उनले भने। अस्पतालको कुराले चिन्तित बनेपछि उनी सेन्टरमा पुगेका थिए। आचार्य पुस्तक पसल चलाउँछन्।
यी दुईजना बाहेक मिर्गौला बिग्रेका, मुटुको भल्ब बन्द भएका, फोक्सोमा पानी जमेका लगायत विभिन्न थरीका हजारौं बिरामी यही पद्धतिका भरमा निको भएको पाइएको छ। आम मानिसको प्रभावमा पुग्न नसकेको यो उपचार भने अन्यत्र उपचारमा हैरान भएका, नेता तथा बुद्धिजीवीहरु बढी धाउने गरेको सेन्टरका सञ्चालक हिलर डिबी शाहीले बताए।
जापानी चिकित्सक केनिची कुमाकिरीले जापानमा ४० वर्षअघि नै यो पद्धतिबाट उपचार सुरु गरेका थिए। अहिले संसारका विभिन्न मुलुकमा सञ्चालनमा रहेको प्रभावकारी उपचार पद्धति भए पनि यसको सैद्धान्तिक पक्ष सबैलाई सजिलै बुझाउन नसक्दा आम बिरामीबीच पुग्न नसकेको शाही बताउँछन्। नेपालमा २००२ देखि उनले यो सेवा सुरु गरेका हुन् भने यसअघि नै डा. बिमला शाहले यो सेवा सुरु गरेकी थिइन्।
शाहीका अनुसार शरिरको प्रणालीलाई सन्तुलनमा राख्ने मुख्य कुरा मन र कोषको सक्रियतालाई प्राकृतिक रुप दिनुपर्छ भन्ने यो पद्धतिले मान्यता राख्छ। ‘मुख्य त मानिसको विचारबाटै मृत कोषहरुलाई सक्रिय बनाउने उपचार हो यो,’ उनले सुनाए, ‘हामी बिरामीलाई पहिलो डाक्टर तपाईं नै हो भनेर उपचार सुरु गर्छौं।’
डा. केनिजीले शरीरलाई सन्तुलनमा राख्न गुरुत्वाकर्षण र चक्रीय शक्तिको सन्तुलन आवश्यक पर्ने मान्यताको विकास गरेका छन्। ‘गुरुत्वाकर्षण शक्ति बढी भएमा टाउको तल झुक्छ, चक्रीय शक्ति बढी भए शरीरको गति सहज बन्छ,’ हिलर शाहीले प्रस्ट पार्दै भने।
आधुनिक चिकित्सा पद्धतिले कुनै पनि जिवाणुलाई मार्न कडा औषधि दिँदा शरीरको कोषसमेत मर्न गई बिरामी झन् कमजोर बन्ने यो पद्धतिले मान्यता राख्छ। उपचारमा मनोथेरापी, निडल, मालिस, शरीरको वाप, विशेष प्रकारको मालिसजस्ता प्रक्रियाले कोष सक्रिय बन्नुका साथै ऊर्जा पलाउँदै जाने मान्यता राख्छ।
सरकारले अहिलेसम्म यसलाई उपचार कार्यक्रमभित्र मान्यता दिएको भने छैन। ‘भारत तथा अन्य देशमा यो उपचार पद्धतिले स्वास्थ्य सेवाभित्रै मान्यता पाइसकेको छ, नेपालमा भने छैन,’ शाहीले भने। रोगको अवस्था हेरेर दुई सातादेखि तीन महिनासम्म यो उपचार गरिन्छ। दैनिक एउटै व्यक्तिलाई कम्तीमा तीन/चार घन्टा यो उपचार गर्न समय लाग्छ।
पवित्रा सुनार/नागरिकबाट


  •  
  •  
  •