गिरी प्रतिवेदन कार्यान्वयन गर्दा त्रिवि र आइओएम पदाधिकारी तानिने

157
  •  
  •  
  •  

काठमाडौं २४ चैत ।  सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशन क्रममा गरेको सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व पदाधिकारीसमेत कारबाहीमा तानिनेछन्।

सरकारले डा. केसीसँग गरेको सम्झौताको दोस्रो बुँदामै ‘जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारबाहीका लागि अख्तियार पठाउने’ उल्लेख छ।
पाँच वर्षअघि पूर्व शिक्षासचिव गिरीको नेतृत्वमा बनेको छानबिन समितिले आइओएमका तत्कालीन डिन डा. अरुण सायमी, सहायक डिनहरू डा. रतिन्द्रनाथ श्रेष्ठ, डा. वशिष्ठ रिजाल र कान्तिलता राजभण्डारी कारबाहीमा तानिने गरी प्रतिवेदन तयार पारेको थियो। त्रिविका तत्कालीन उपकुलपति डा. माधव शर्मासमेत यसमा तानिन सक्छन्।
वर्तमान त्रिवि पदाधिकारीले पनि हालसम्म यो प्रतिवेदन कार्यान्वयनमा नलगी गुपचुप राखेकाले कारबाहीको भागीदार हुनुपर्नेछ। त्रिवि उपकुलपतिले यसको कार्यान्वयनबारे तीन–तीन महिनामा प्रधानमन्त्री तथा कुलपतिलाई रिपोर्ट गर्ने निर्णय भएको थियो जुन कार्यान्वयन भएन।

iom
गिरी समितिले प्राप्त उजुरीका आधारमा आइओएमका तत्कालीन पदाधिकारीबाट भएका अनियमितता आफ्नो प्रतिवेदनमा औंल्याएको छ। यसमा एमडी/एमएस प्रवेश परीक्षा, निजी मेडिकल कलेजको सम्बन्धन, कार्यक्रम विस्तार, उपकरण खरिद लगायतमा भएका अनियमितता प्रमुख छन्। छानबिन क्रममा तत्कालीन त्रिवि उपकुलपति र आइओएम पदाधिकारीबाट आवश्यक प्रमाण तथा कागजात पाउन कठिनाइ भएको बेहोरासमेत प्रतिवेदनमा खुलाइएको छ।
‘त्यतिबेलै प्रतिवेदन कार्यान्वयन गरेको भए आइओएम र त्रिविका तत्कालीन पदाधिकारी सबै मुछिन्थे,’ समितिका एक सदस्यले सोमबार नागरिकसँग भने, ‘विश्वविद्यालयदेखि आइओएमसम्मको भागबन्डामा सबै पार्टीका मान्छे परेकाले रोकियो।’
अख्तियारले स्वतन्त्र ढंगमा कारबाही अघि बढाए आइओएम र त्रिविका तत्कालीन पदाधिकारी फेरि छानबिनमा तानिने उनले बताए। समितिका संयोजक पूर्व शिक्षा सचिव गिरीका अनुसार यो प्रतिवेदनले आइओएमका तत्कालीन पदाधिकारीबाट भएका थुप्रै अनियमितता उजागर गरेको छ।

‘हामीले चिकित्सा शिक्षामा रहेका बेथिति छर्लंग हुने गरी प्रतिवेदन तयार पारेका थियौं,’ संयोजक गिरीले नागरिकसँग भने, ‘सुरुमै प्रतिवेदन कार्यान्वयन गरेको भए अहिलेको विकृति आउने नै थिएन।’
‘हामीले एक महिना मिहिनेत गरेर आइओएमका गम्भीर त्रुटि औंल्याउँदै प्रतिवेदन बनाएका थियौं, तर छानबिन अघि नबढ्दा खल्लो लागिरहेको थियो, अब केही हुन्छ कि!’ गिरीले आशा व्यक्त गरे। नागरिक दैनिकबाट 


  •  
  •  
  •