एजेन्सी । बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले अब हिज–हर रोयल हाइनेस (एचआरएच) उपाधि प्रयोग गर्न नपाउने र उनीहरुले पब्लिक फन्डको रकम पनि नपाउने भएका छन् । बकिङ्घम राजदरबारले शनिबार सो कुराको घोषणा गरेको हो ।
अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन् । ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ ।
दरबारद्वारा जारी वक्तव्यका अनुसार ‘ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन् ।’
हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।
बीबीसीका अनुसार राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन् । नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ ।
ह्यारी र मेगनले ब्रिटेनस्थित आफ्नो घर ’फ्रोगमोर कटेज’को मर्मतसम्भारका लागि खर्च भएको करदाताको २४ लाख पाउन्ड रकम फिर्ता गर्न चाहेको बताएका छन् ।
महारानीले भनेकी छिन्, ‘ह्यारी, मेगन र आर्ची (उनीहरूका छोरा) सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन् ।’