हावाहुरीका कारण ज्यान गुमाएकाको सम्झनामा शोक मनाइँदै

377
  •  
  •  
  •  

धनुषा, ३० चैत(ओएनएस) : बारा र पर्साका आएको हावाहुरीका कारण ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश २ मा आज शोक मनाइँदै छ ।

यहि चैत २४ गते बसेको प्रदेश २ मन्त्री परिषद बैठकले आज शोक मनाउने घोषणा गरेको थियो ।

प्रदेश सरकारको आह्वानमा हावाहुरीमा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आज बिहान ११ बजे मृतकहरुको आत्माको चिरशान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिएको थियो ।

आज शनिबार कार्यालय नखुल्ने हुनाले आ–आफ्नै स्थानबाट शोक मनाउन सबैमा आह्वान गरिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

गएको चैत १७ गते साँझ असिना,पानीसँगै आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका २८ जनाको ज्यान गएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए ।

त्यसको भोलिपल्ट चैत १८ गते बसेको प्रदेश २ को मन्त्रिपरिषदको आकास्मिक बैठकले जनधनको ठूलो क्षति भएकाले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । तर संघीय सरकारले कुनै चासो नदेखाएपछि मृतकहरुको सम्झनामा प्रदेश स्तरमै शोक मनाउने निर्णय भएको हो ।


  •  
  •  
  •